| बुधबार, कार्तिक २५, २०८३

सात बर्षमा ५ लाख बढी पर्यटकले अवलोकन गरे गोरखा संग्रहालय

सात बर्षको अवधिमा पाँचलाख भन्दा धेरै पर्यटकले गोरखा संग्रहालयको अवलोकन गरेका छन् । आर्थिक बर्ष २०७३÷७४ देखि २०७९÷८० सम्म कुल ५ लाख ५१ हजार ९२२ जना पर्यटकले संग्रहालयको अवलोकन गरेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख नवराज अधिकारीका अनुसार आव २०७३÷७४ मा कुल ७२ हजार ९ सय पर्यटकले संग्रहालय अवलोकन गरेका थिए । आव २०७४÷७५ मा ७५ हजार ५३, २०७५÷७६ मा ९५ हजार ३ सय ६० र २०७६÷७७ मा ७५ हजार ५ सय ४८ जना पर्यटकले संग्रहालय अवलोकन गरेका थिए ।

आव २०७७÷७८ मा संग्रहालय अवलोकन गर्ने पर्यटकको संख्या भने निकै कम भएको कार्यालय प्रमुख अधिकारीले बताए । सो आव ३३ हजार दुई जनाले मात्र संग्रहालय अवलोकन गरेको उनले जानकारी दिए । कोभिडका कारण पर्यटकको संख्यामा कमी आएको कार्यालयले जनाएको छ ।

त्यस्तै २०७८÷७९ मा संग्रहालय घुम्ने पर्यटकको संख्या ७६ हजार ३ सय २८ रहेको थियो भने आव २०७९÷८० मा त्यो संख्या करिव दोब्बरले बढेर १ लाख २३ हजार ७ सय ३१ पुगेका छ । उनीहरुमध्ये ७९ हजार २३१ जना साधारण नेपाली र ४३ हजार ५७० जना बिद्यार्थी रहेको संग्रहालय प्रमुख अधिकारीले बताए । त्यस्तै गत आव ७० जना दक्षिण एसियाली बिदेशी पर्यटक र ८ सय ६० जना अन्य देशका पर्यटकले संग्रहालय अवलोकन गरेको उनले जानकारी दिए ।

उनका अनुसार आव २०७८÷७९ मा संग्रहालय अवलोकन गर्ने कुल ७६ हजार ३२८ जनामध्ये सबैभन्दा धेरै साधारण नेपाली रहेका थिए । ‘४९ हजार ८ सय साधारण नेपाली थिए, २६ हजार १ सय ५२ बिद्यार्थी थिए,’ उनले भने । त्यस्तै ९ जना दक्षिण एसियाली मुलुकका पर्यटक र ३३ जना अन्य देशका बिदेशी पर्यटक रहेको उनले जानकारी दिए ।

गत बर्ष करिव एक लाख ५० हजार बढी नागरिकलाई गोरखा राज्यको इतिहास तथा नेपाल एकीकरणबारे सूचना प्रवाह गरेको कामलाई संग्रहालयले प्रमुख उपलब्धी मानेको छ । त्यस्तै केही लक्षित वर्गमा गोरखाको इतिहास र संस्कृति सम्बन्धी सचेतना बढाइएको समेत कार्यालयले जनाएको छ । केही पूर्वाधारहरु तयार भएको र स्मारकको संरक्षण भएको बताइएको छ ।
जनशक्ति र बजेट अभाव, जीर्ण संरचना र ग्यालरी बिस्तार नहुनुलाई संग्रहालयले प्रमुख समस्या मानेको छ । त्यस्तै सार्वजनिक बिदा र मंगलवार प्रदर्शनी कक्ष खुला राख्ने कार्यलाई निरन्तरता दिन चुनौती भएको कार्यालयले जनाएको छ । स्मारक वरपरका संरचनाहरुलाई सम्पदामैत्री बनाउन पनि चुनौती भएको बताइएको छ ।

गोरखा संग्रहालयलाई शैक्षिक भ्रमणको प्रमुख गन्तव्यको रुपमा प्रवर्दन गर्ने सम्भावना रहेको कार्यालयले जनाएको छ । त्यस्तै अनौपचारिक शिक्षा तथा इतिहास अध्ययन केन्द्रसँगै गण्डकी भेगको पर्यटन प्रवर्धनको आधारको रुपमा समेत बिकास गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्