
सामागाउँमा प्राचीन सम्पदायुक्त बस्ती निर्माण गर्न पालिकाद्वारा स्वीकृति
सामागाउँमा प्राचीन सम्पदायुक्त बस्ती निर्माण गर्न गाउँपालिकाले स्वीकृति दिएको छ । प्राचीन धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले चुमनुब्री १ सामागाउँमा प्राचीन सम्पदायुक्त बस्ती निर्माण गर्न स्वीकृति दिएको अध्यक्ष निमा लामाले जानकारी दिए ।
‘प्राचीन कालदेखि चलिआएको धर्म, संस्कृति, भेषभुषा, रहनसहनलाई संरक्षण गर्ने अभियान चलाउँछौँ भन्नुभयो । त्यही अनुसारको बस्ती, गुम्बा निर्माण गर्छौँ भनेर डिपिआर समेत तयार गरेर आउनु भयो । त्यसैले हामीले राम्रो कामका लागि प्रोत्साहन गर्नुपर्छ भनेर स्वीकृति दिएका हौँ’, लामाले भने, ‘३६६ रोपनी क्षेत्रफलमा प्राचीन सम्पदायुक्त बस्ती, गुम्बा निर्माण गर्ने ठूलो योजना छ ।
लागत पनि करोडौँ अर्बौँ लाग्न सक्छ । त्यसका लागि उहाँहरु प्रतिवद्ध भएर लाग्नु हुन्छ भने गाउँपालिका सघाउन तयार छ ।’ सामागाउँस्थित कक्यू छ्योलिङ गुम्बा आसपासको ३६६ रोपनी क्षेत्रलाई समेटेर ‘लोटस फिट अफ मनास्लु हेरिटेज’ नामको प्राचीन सम्पदायुक्त बस्ती निर्माणका लागि पहल थालिएको स्थानीय वीरबहादुर लामाले जानकारी दिए ।
सामागाउँको प्राचीन संस्कार, कला, संस्कृति, भेषभुषा, रहनसहनको संरक्षण गर्न गुम्बा आसपासका करिब ६० घर समेटेर ‘प्राचीन सम्पदायुक्त बस्ती’ निर्माण गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
गुम्बाकै नाममा लालपूर्जा रहेको सो क्षेत्रलाई तारबार गरी प्राचीन सम्पदायुक्त बस्ती निर्माण गर्न आफू वडाअध्यक्ष छँदै डिपिआर तयार गरिएको उनले बताए । प्राचीन सम्पदायुक्त क्षेत्रमा सामागाउँमा प्रचलित प्राचीन सम्पदाहरु संकलन गर्ने, प्रदर्शनमा राखिने, सूचनाकेन्द्र, पुस्तकालय स्थापना हुनेछ । सम्पदा बस्ती निर्माणका लागि छलफल गर्न आयोजित भेलाले त्यहाँका मुख्य लामा जिग्मेको संयोजकत्वमा स्थानीय अगुवा समाजसेवीहरु सम्मिलित ब्यबस्थापन समिति बनाएको छ । समितिले सो क्षेत्रको सीमांकन, नक्शांकन गर्ने, डिपिआर तयार गरिसकेको छ भने अब त्यसलाई कार्यान्वयनतिर लाने लामाले बताए ।
सम्पदा बस्तीका लागि सो समिति, गाउँपालिका, एमक्याप, पुरातत्व बिभाग लगायतका सम्बन्धित निकायको पहल रहने छ । मनास्लु क्षेत्रमा पर्यटकको आवागमन बढेपछि सामागाउँमा आरसिसी गरेका ठूलो होटल, लज तथा अन्य संरचना बन्न थालेका छन् ।
आधुनिक डिजाइनका घर तथा होटल बन्न थालेपछि र पर्यटकसंगै पश्चिमा संस्कृति भित्रिएपछि प्राचीन सम्पदा लोप हुनसक्ने भन्दै गुम्बा क्षेत्रलाई सम्पदा क्षेत्र बनाउन लागिएको लामाले बताए । होटलले व्यवसायीलाई मात्र फाइदा पुग्ने तर यस्तो क्षेत्र बनायो भने गाउँलेलाई फाइदा पुग्ने स्थानीयबासीले अपेक्षा गरेका छन् ।




