
गजेन्द्र राई बने ११ औ लिगलिगे राजा
खोटाङका गजेन्द्र राइ ११ औ लिगलिगे राजा बन्न सफल भएका छन् । बुधवार पालुङटारमा आयोजित लिगलिगे दौडमा ६९ जनालाई पछि पार्दै उनी ११ औ लिगलिगे राजा बन्न सफल भएका हुन् ।
उनले चेपेघाटदेखि लिगलिगकोट सम्मको १३.५ किलोमिटर दुरी ५६ मिनेट ३६ सेकेण्डमा पार गरेका थिए । उनी त्रिभुवन आर्मी क्लबमा आवद्ध छन् ।
निर्धारित दुरी ५६ मिनेट ५३ सेकेण्डमा पार गर्दै त्रिभुवन आर्मी क्लबकै नरेन्द्र सिं रावत दोस्रो बनेका छन् ।
त्यसैगरी यसअघिका बिजेता अनिस थापा यसपटक तेस्रो बनेका छन् । निर्धारित दुरी उनले ५८ मिनेट ३५ सेकेण्डमा पार गरेका थिए । उनी भारतीय सेनामा कार्यरत छन् ।
दशैका बेला दौड जितेर लिगलिगको राजा बन्ने परम्परा कायम राख्न लिगलिग बिकास अभियानले बिगत १५ बर्षेदखि लिगलिगे दौडको आयोजना गर्दै आएको छ । कोभिडका कारण विगत तीन बर्ष हुन नसकेको दौडले यस बर्ष निरन्तरता पाएको हो ।
दौडको उपाधी बिजेता राईलाई बिशेष कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिगलिगे राजा घोषणा गर्ने कार्यक्रम रहेको आयोेजक लिगलिग बिकास अभियानका अध्यक्ष संजिव राना मगरले बताए । त्यस्तै एक लाख नगद पुरस्कारसहित श्रीपेच (पगरी), ट्रफी, मेडल र प्रमाणपत्र पनि दिइने बताइएको छ ।

दौडमा दोस्रो भएका रावतले ५० हजार र तेस्रो बनेका थापाले २५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । दौडमा २१ जना स्थानीय धावक सहित कुल ७० जनाको सहभागीता रहेको थियो । गोरखा र लमजुङको सिमानामा पर्ने चेपेघाटबाट सुरु भएको दौड ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोहुदै लिगलिगकोट कालिका मन्दिरमा पुगेर सम्पन्न भएको हो ।
नेपाल एकीकरण अघि बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो । पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता सुरु भएको भएपनि अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्राउन प्रतियोगिताको आयोजना गरिँदै आएको छ । वि.सं. १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको हो । तत्कालीन राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी लिगलिगकोटको राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।




