| बुधबार, कार्तिक २५, २०८३

गोरखाका पाँच स्थानीय तहमा जग्गा कित्ताकाट खुल्यो

जिल्लाको एघार स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहमा जग्गा कित्ताकाट खुल्ला भएको छ । पालुङटार नगरपालिका, वारपाक सुलिकोट, अजिरकोट, आरुघाट र गण्डकी गाउँपालिकाले जग्गाको वर्गीकरण गरी कित्ताकाट खुल्ला गरेका हुन् ।

भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियमावली २०७९ को प्रावधान अनुसार आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण जग्गाको वर्गीकरण गरी कित्ताकाट खुल्ला गरिएको सम्बन्धित पालिकाहरुले जनाएका छन् ।

असोज ७ गते अजिरकोट, असोज १३ गते आरुघाट, असोज १६ गते बारपाक सुलिकोट र असोज १७ गते गण्डकी गाउँपालिकामा कित्ताकाट खुल्ला भएको हो । सबैभन्दा पहिले कित्ताकाट खुल्ला गरेको पालुङटार नगरपालिकाले नगर क्षेत्रभित्रको जग्गालाई नौ भागमा वर्गीकरण गरेको छ ।

कृषि, व्यावसायिक, सांस्कृतिक तथा पुरातात्विक, वनक्षेत्र, नदी खोला, औद्योगिक क्षेत्र, सार्वजनिक उपयोग र आवासीय भनी जग्गाको वर्गीकरण गरिएको नगरपालिकाले जनाएको छ । कित्ताकाट खुल्ला भएसँगै सम्बन्धित वडा कार्यालयबाट कित्ताकाटका लागी सिफारिस दिन शुरु गरिने बताइएको छ ।

गत बर्षको जेठ महिनादेखि जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन् । राजश्व समेत प्रभावित हुन पुगेको थियो । भूमिको वर्गीकरण, समुचित उपयोग र प्रभावकारी व्यवस्थापन गर्ने उद्देश्यले सरकारले भू–उपयोग ऐन २०७६ ल्याएको हो । उक्त ऐन कार्यान्वयन गर्न गत जेठ २३ गते सरकारले भू–उपयोग नियमावली २०७९ ल्यायो । नियमअनुसार जग्गालाई कृषि, आवासीय, व्यवसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला, ताल, सिमसार, सार्वजनिक उपयोग र सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रमा वर्गीकरण गर्नुपर्ने उल्लेख गरिएको छ । सोही ऐन अनुसार हालसम्म जिल्लाका पाँच स्थानीय तहले जग्गाको वर्गीकरण गरी कित्ताकाट खुल्ला गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्