| बुधबार, कार्तिक २५, २०८३

गोरखाका दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना

दशैँ र तिहारका बेला यातायात व्यवस्थापनलाई चुस्त राख्न गोरखा सदरमुकामको दुई ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले शुक्रबार सदरमुकामको पुरानो बसपार्कमा र १२ किलोमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

चाडपर्वका बेलामा गाउँ फर्किनेहको भिड हुने र हतारहतारमा धेरै यात्रुहरुको झोला लगायत सामग्रीहरु बिच बाटोमा छुट्ने, यात्राको क्रममा बढी भाडा लिने र यात्रुहरुले सिट नपाउने लगायतका गुनासोहरु सुन्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख बेदनाथ भण्डारीले बताए । यात्रुहरुको गुनासोलाई सबैसँगको समन्वयमा तत्काल सम्बोधन हुने पनि उनको भनाइ छ ।

यात्रु सहायता कक्ष दशै देखि तिहार सम्म संचालन हुनेछ । सो कक्षमा ट्राफिक प्रहरी र जिल्ला प्रहरीका कर्मचारीहरु खटिने बताएको छ ।

त्यस्तै चाडपर्वको बेलामा सवारी चेकजाँचलाई समेत कडाइ गरिने ट्राफिक प्रहरी प्रमुख भण्डारीले बताए । जिल्लाका विभिन्न रुटमा संचालन हुने सवारी साधनहरुमा चाडपर्वको बेलामा सिट क्षमता भन्दा बढी बोक्ने र सवारी दुर्घटना हुने सम्भावना भएकाले २४ सै घण्टा सवारी चेकजाँचमा कडाइ गरिएको उनले बताए । जिल्लाका विभिन्न रुटहरुमा ठाउँ ठाउँमा चेक प्वाइन्ट स्थापना गरी चेकजाँचलाई कडाइ गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्