| बुधबार, कार्तिक २५, २०८३

फेरी बल्झियो महोत्सव विवाद

जिल्ला सदरमुकाममा आजबाट शुरु हुने बृहत लोकदोहोरी महोत्सवको बिषयमा पुनः विवाद शुरु भएको छ । स्टलको बिषयलाई लिएर कपडा तथा फेन्सी व्यवसायी संघ गोरखा र आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखा बीचको विवाद फेरी बल्झिएको हो ।

यसअघिको सहमति कार्यान्वयन नगरेको भन्दै मंगलवार फेन्सी व्यवसायीले महोत्सव स्थलमा केही समय लफडा समेत गरेका थिए । स्टलमा राखिएको कपडाहरु उनीहरुले यत्रतत्र छरिदिएपछि केही समय चर्काचर्की परेको थियो ।

यसअघि भएको सहमति कार्यान्वयन नगरेका कारण आफूहरुले बिरोध गरेको संघका जिल्ला अध्यक्ष सुवास मल्लले बताए । ‘गत बुधवार भएको सहमति अनुसार महोत्सवमा फेन्सी आइटमको १३ वटामात्र स्टल राख्ने, त्यसमध्ये ६ वटा फेन्सी व्यवसायीलाई दिने भन्ने थियो,’ उनले भने, ‘तर आज हेर्दा ५० वटाजति स्टलमा फेन्सी आइटम राखेको देखियो ।’ सहमति कार्यान्वयन भए नभएको अनुगमन गरिदिन नगरपालिकासँग माग समेत गरिएको उनले जानकारी दिए ।

विवाद समाधानका लागी मंगलवार राती अवेर सम्म जिल्ला प्रहरी कार्यालयमा छलफल भएको थियो । गोरखा नगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारी सहितको रोहवरमा भएको छलफलमा दुई पक्षीय बीच मौखिक सहमति भएको छ ।

सहमति अनुसार आयोजकले सात वटा स्टलमा फेन्सी सामग्री र जुत्ता चप्पल, कस्मेटिक सामग्रीका १३ वटा स्टल राख्न पाउने सहमति भएको बताइएको छ । गोरखाका फेन्सी व्यवसायीहरुका लागि भने छ वटा स्टल उपलब्ध गराइने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्