
इजरायल आक्रमणमा मारिएका नेपाली बिद्यार्थीको सम्झनामा दिप प्रज्वलन
इजरायल आक्रमणमा ज्यान गुमाएका नेपाली बिद्यार्थीको सम्झनामा गोरखामा दिप प्रज्वलन गरिएको छ । नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति गोरखाले मंगलवार साँझ बसपार्कमा दिप प्रज्वलन गरेको हो ।
आक्रमणमा मारिएका प्रति श्रद्धाञ्जली अर्पण साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्वलन गरिएको संघका जिल्ला कार्यवहाक सभापति शिवहरी तिमिल्सिनाले बताए ।
‘बुद्धको देशबाट विश्व शान्तिको कामना’ भन्ने सन्देशमूलक नारासहित कार्यक्रम गरिएको उनले जानकारी दिए । इजरायलमा फसेका अन्य नेपाली विद्यार्थीहरुको पनि तत्काल उद्दार गर्न पनि संघले माग गरेको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस गोरखा सभापति नन्दप्रसाद न्यौपाने, गोरखा नगरपालिकाकी उपप्रमु मसलीमाया थोकर, कांग्रेस जिल्ला सचिव किशोरजंग थापा, सहसचिव लुमनाथ लामिछाने, कोषाध्यक्ष बलराम खड्का, जिल्ला कार्यसमिति सदस्य राजनराज पन्त, तरुण दल जिल्ला सभापति आन्नद गुरुङ नेविसंघ केन्द्रिय सदस्य पशुराम भट्ट, प्रविन बस्नेत लगायतको उपस्थिती रहेको थियो ।




