
बिभिन्न माग राख्दै शान्ति समाजद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाली जनतालाई दण्डहीनताको अन्त्य गर्दै सुशासनको प्रत्याभूति दिलाउन मानव अधिकार तथा शान्ति समाज गोरखाले सरकारको ध्यानाकर्षण गराएको छ ।
मंगलवार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल माफर्त प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै समाजले मुलुकमा विद्यमान कहालीलाग्दो दण्डहीनताको अन्त्य गरी सुशासनको प्रत्याभूति दिलाउन आग्रह गरेको हो ।
चुलिदो भ्रष्टाचार, दण्डहीनता र बढ्दो महंगीका कारण नागरिकहरुमा वितृष्णा बढ्दै गइरहेकाले त्यसको नियन्त्रण गर्न पनि माग गरिएको समाजकी जिल्ला सभापति गोमा दुवाडीले बताइन् । अदालतले दोषी ठहर गरेका पात्रलाई राष्ट्रपतिद्वारा माफी दिने निर्णय समग्र न्याय प्रणालीको अपमान भएको समाजको बुझाइ छ । न्यायको सार्वभौम मान्यता विपरित भएको सो निर्णयले आपराधीकरणलाई बढावा दिनुका साथै लोकतन्त्र र संविधानलाई कमजोर बनाएको भन्दै उक्त निर्णय सच्याउन समाजले आग्रह गरेको छ ।
बालुवाटार (ललिता निवास) जग्गा प्रकरणमा सर्वोच्च अदालतको आदेश अनुरुप पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि छानविन गरि कारवाही गर्नुपर्ने, सुन काण्डका मूल दोषीहरुमाथि अझै कारबाही गर्नुपर्ने, नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई अझै कारबाही गर्नुपर्ने, वाइड बडी लगायत यति, ओम्नीसहितका घोटाला र विभिन्न जग्गा प्रकरणका दोषीहरुलाई कारबाही गर्न समेत समाजले माग गरेको छ ।
त्यस्तै, माओवादीको हिंसात्मक जनयुद्ध शुरु भएको दिन फागुन १ गते ‘जनयुद्ध दिवस’ भनि विदा दिने आपत्तिजनक सरकारी निर्णय तत्काल खारेज गर्न पनि समाजले माग गरेको छ ।




