
बारपाक–लाप्राक सडकखण्ड अझै सुचारु भएन
बर्षासँगै गएको पहिरोले अवरुद्ध बनेको बारपाक–लाप्राक सडकखण्ड अझै सुचारु भएको छैन । यातायात ठप्प हुदाँ स्थानीयलाई आउजाउसँगै सामान ढुवानीमा समेत समस्या परेको छ । सडक संचालनमा चासो नदिएको भन्दै स्थानीयको गुनासो समेत गरेका छन् ।
उक्त सडकखण्ड ग्राभेलको जिम्मा पाएको निर्माण कम्पनी एम÷एस शर्मा÷बोकी जेभीले समेत पहिरो हटाउन चासो दिएको छैन । काममा समेत लापरवाही गर्दै आएको उक्त कम्पनीसँग १३.१४ किलोमिटर दुरीको उक्त सडकखण्ड ग्राभेलका लागी २०७७ साल जेठ ९ गते ठेक्का सम्झौता भएको थियो ।
सम्झौता अनुसार २०८० जेठ २१ गते काम सक्नुपर्ने भएपनि हालसम्मको भौतिक प्रगती ५२ प्रतिशत मात्र रहेको पूर्वाधार बिकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ३४ करोड १५ लाखमा ठेक्का सम्झौता भएको हो । पहिरो पन्छाएर सडक संचालन गर्न निर्माण कम्पनीलाई भनिएको कार्यालय प्रमुख गणेश सुवेदीले बताए ।
‘स्टमेट बनाएर दिएका छौ, भोलीबाट काम शुरु गर्न पनि भनिसक्यौ,’ उनले भने, ‘काम गरेन भने उहाँको धरौटी रकमबाट कटाएर अरुलाई काम लगाउछौ ।’ दशै अगावै पहिरो पन्छाएर सडक संचालनमा ल्याइने उनले आश्वासन दिए ।
‘दुई तीन दिन एक्साभेटर लगाएर बाटो सफा गरेपछि यातायात चल्नलाई समस्या हुदैन, त्यो काम सम्भवत भोलीबाटै शुरु हुन्छ,’ उनले भने ।
समयमै सडक ग्राभेलको काम सम्पन्न नहुँदा धार्चेको लाप्राक, गुम्दा, सिङ्ला लगायतका स्थानीयले सास्ती भोग्दै आएका छन् ।




