
महोत्सवको बिषयमा भएको विवादमा सहमति जुट्यो
यही असोज २३ गतेबाट हुने भनिएको महोत्सवको बिषयलाई लिएर भएको विवाद समाधान भएको छ । चाडवाडको समयमा मेला महोत्सव गर्दा व्यापारमा असर पर्ने भन्दै फेन्सी व्यवसायी संघ गोरखाले बिरोध गर्दै आएको थियो ।
महोत्सवमा फेन्सी सामग्रीको स्टल नराख्न माग गर्दै उनीहरुले प्रशासन कार्यालय र नगरपालिकामा ज्ञापन पत्र समेत बुझाएका थिए । विवाद समाधानका लागी गोरखा नगरपालिकाको अगुवाइमा वुधबार बसेको बैठकबाट विवाद समाधान भएको हो ।
फेन्सी व्यवसायीले बुकिङ गरेको १३ वटा स्टल मध्ये ६ वटा स्टल जिल्लाका स्थानीय व्यवसायीलाई दिने निर्णय भएपछि सहमति भएको नगरपालिकाले जनाएको छ । ‘महोत्सवभर फेन्सी आइटमका १३ वटा स्टल मात्र राख्ने भन्ने भयो, त्यसमध्ये ६ वटा स्टल जिल्लाका फेन्सी व्यवसायीलाई निशुल्क दिने भनेपछि सहमति भएको हो,’ नगरपालिकाका सूचना अधिकारी चेतप्रसाद अम्गाइले भने ।
अवका दिनमा चाडवाडको समयमा मेला महोत्सवका लागी अनुमति नदिने निर्णय समेत गरिएको उनले जानकारी दिए । बैठकमा गोरखा नगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, गोरखा उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।




