| बुधबार, कार्तिक २५, २०८३

यातायात व्यवसायीद्वारा नयाँ भाडादरको बिरोध

जिल्लाको अस्थायी रुटमा निर्धारण गरिएको नयाँ भाडादरप्रति असन्तुष्टी जनाउँदै यातायात व्यवसायीहरुले बिरोध गरेका छन् । नयाँ भाडादर त्रुटिपूर्ण र अवैज्ञानिक रहेकाले लागू गर्न नसकिने उनीहरुको तर्क छ । पुरानौ भाडादरमा यातायात संचालन गर्ने बुधवार पत्रकार सम्मेलन गर्दै उनीहरुले जानकारी गराएका छन् ।

अस्थायी मार्ग तथा भाडा निर्धारण समितिको सोमवारको बैठकले बुधवारदेखि लागू हुने गरी जिल्लाका ४५ अस्थायी रुटको भाडा समायोजन गरेको हो । जस अनुसार पक्की सडकमा प्रति किलोमिटर ५.३४ रुपैया, ग्रावेल सडकमा ७.८५ र कच्ची सडकमा ९.४४ रुपैया भाडादर कायम गरिएको छ ।

समितिले निर्धारण गरेको नयाँ भाडादर त्रुटिपूर्ण र अवैज्ञानिक रहेको भन्दै दुरी समेत सच्याउनु पर्ने यातायात व्यवसायीहरुको माग छ । सडक अनुगमन समितिद्वारा जिल्लाभित्रका विभिन्न क्षेत्रका सडकहरुको अनुगमन गरि सर्वपक्षिय बैठकद्वारा भाडादरको पुनविचार गर्नुपर्ने यातायात व्यावसायी दिपक बोहोराले बताए । भाडादर पुर्नबिचार नगरेसम्म पुरानै भाडादर लिने उनीहरुले बताएका छन् ।

पेट्रोलियम पदार्थको मुल्यवृद्धि, जिल्लाको भौगोलिक बनावट तथा सडकको अवस्था, बैंकको चर्को व्याजदर, सवारी कर र सवारी बिमा लगायतमा आधारमा भाडादर निर्धारण गर्नुपर्ने उनीहरुको माग छ । यात्रु बोक्ने रातो प्लेटका सवारी साधनलाई नियमन निकायले नियन्त्रण गर्न नसक्दा समेत आफूहरु मारमा परेको उनीहरुले गुनासो गरेका छन् ।

गोरखा दरौदी यातायात कम्पनी प्रालिका अध्यक्ष नारायण खत्रीले सडक अनुगमन बिना भाडादर निर्धारण गरिएको भन्दै असन्तुष्टी जनाए । नयाँ कायम गरिएको भाडादरमा यातायात संचालन गर्न नसकिने उनले बताए ।

जिल्लाका यातायात व्यवसायीहरुद्वारा सोहि विषयमा ध्यानाकर्षण गराउँदै बुधबार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्