
सिरानचोकका जेष्ठ नागरिकहरु सम्मानित
३३ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सिरानचोक गाउँपालिकाका जेष्ठ नागरिकहरु सम्मानित भएका छन् । आइतवार एक कार्यक्रमका बीच गाउँपालिकाका सबै वडामा रहेका जेष्ठ नागरिकलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष रिता देवकोटाले बताइन् ।
‘वडाबाट सम्मानित हुने व्यक्तिहरुको नाम छनोट भएर आयो,’ उनले भनिन्, ‘त्यही आधारमा हामीले उहाहरुलाई सम्मान ग¥यौ ।’ वडा नम्वर १ र २ का ९÷९ जना, वडा नम्वर ३ का १२ जना, वडा नम्वर ४ का ९ जना, वडा नम्वर ५ का १० जना, वडा नम्वर ६ का ९ जना, वडा नम्वर ७ का ११ जना र वडा नम्वर ८ का १० जनालाई सम्मान गरिएको उनले जानकारी दिइन् ।
उनीहरुलाई फाइबर सिरक, लौरो, ढाँड कन्याउने लौरो र लाइट समेत वितरण गरिएको बताइएको छ । आर्थिक अवस्था कमजोर भएका विपन्न र पिछडिएका जेष्ठ नागरिकहरुलाई उक्त सामग्री वितरण गरिएको पालिकाले जनाएको छ । उक्त कार्यक्रमका लागि चालु वर्ष पालिकाले पाँच लाख बजेट विनियोजन गरेको थियो ।
त्यस्तै आइतबार नै पालिकाका पाँच वटा बिद्यालयमा आँखा चेकजाँच कार्यक्रम अन्तरगत वडा नं ४ को धर्मावती माविमा आँखा जाँच कार्यक्रम भएको छ ।
लायन्स क्लव अफ गोरखा र सिरानचोक गाउँपालिकाको समन्वयमा बिद्यालयका बिद्यार्थीको आँखा चेकजाँच गरिएको हो । यसका साथै मानसिक स्वास्थ्य तथा आयुर्वेदिक शिक्षा सम्बन्धी शिक्षा पनि दिएको उनले बताइन् ।




