
लिगलिगे दौड प्रतियोगिताले यस बर्ष निरन्तरता पाउने
यस बर्ष लिगलिगे दौड प्रतियोगिताले निरन्तरता पाउने भएको छ । कोभिडका कारण विगत तीन बर्ष प्रतियोगिता संचालन हुन सकेको थिएन । तर यस बर्ष कात्तिक १ गते एघारौ संस्करणको दौड प्रतियोगीता गर्न लागिएको आयोजक लिगलिग विकास अभियानले जनाएको छ ।
शनिवार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै अभियानका अध्यक्ष संजिव राना मगरले सो कुराको जानकारी गराएका हुन् । गोरखा र लमजुङको सिमानामा पर्ने चेपेघाटबाट सुरु हुने दौड ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोहुदै लिगलिगकोट कालिका मन्दिरमा पुगेर समापन हुने बताइएको छ ।
निर्धारित दुरी १३.८ किलोमिटर रहने छ । प्रतियोगितामा पहिलो हुनेले एक लाख नगद पुरस्कारसहित श्रीपेच (पगरी), ट्रफी, मेडल र प्रमाणपत्र पाउने अभियानका अध्यक्ष रानाले बताए । उनका अनुसार पहिलो हुने धावकलाई एक बर्षका लागी लिगलिगकोटको राजा घोषणा गरिने छ ।
दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेले क्रमश ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउने उनले जानकारी दिए । प्रतियोगिता अन्तरगत स्थानीयवासी र विद्यार्थीको पनि छुट्टाछुट्टै प्रतिस्पर्धा हुने उनको भनाइ छ । उनका अनुसार स्थानीय खुलातर्फ पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेले क्रमश २० हजार, १५ हजार, १० हजार, ५ हजार र ३ हजार पुरस्कार पाउनेछन् । विद्यार्थीतर्फका बिजेतालाई १५ हजार, १० हजार, ७ हजार, ५ हजार र ३ हजारका दरले पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।
उक्त प्रतियोगितामा १८ बर्ष मुनिकाहरुले मात्र सहभागीता जनाउन पाउनेछन् । उक्त प्रतियोगीताको निर्धारित दुरी तीन किलोमिटर रहेको छ । प्रतियोगितामा सहभागी हुन चाहनेहरुका लागी अनलाइन फारम खुला भइसकेको आयोजकले जनाएको छ ।
यही असोज २५ गतेसम्म फर्म भर्ने म्याद रहेको बताइएको छ । प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको रानाले बताए । प्रतियोगितालाई संस्कृतिक पर्वको रुपमा मनाउने योजना समेत रहेको उनले जानकारी दिए । प्रतियोगीतामा करिव दुई सय जनाको सहभागीता रहने अपेक्षा गरिएको छ । प्रतियोगिता संचालनका लागी करिब १५ लाख खर्च लाग्ने अनुमान आयोजकको छ । नेपाल एथलेटिक्स संघको प्रविधिक सहयोग रहने प्रतियोगितालाई नेपाल पर्यटन बोर्डले प्रबद्र्धन गर्ने बताइएको छ ।
नेपाल एकीकरण अघि बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो । पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता सुरु भएको भएपनि अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताको आयोजना गरिँदै आएको छ । वि.सं. १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको हो । तत्कालीन राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी लिगलिगकोटको राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।




