| बुधबार, कार्तिक २५, २०८३

ग्रामिण रुटको भाडा समायोजन गर्न नेपाल समाजवादी युवा संघको माग

जिल्लाको ग्रामिण रुटमा चल्ने सार्वजनिक यातायातको भाडादर समायोजन गर्न नेपाल समाजवादी युवा संघ जिल्ला कार्यसमिति गोरखाले माग गरेको छ । ग्रामिण रुटमा चल्ने यातायातले मनपरी भाडा असुल्ने गरेको भन्दै संघले प्रशासन कार्यालयको ध्यानाकर्षण समेत गराएको छ ।

शुक्रवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै समितिले कालोपत्रे भइसकेको जिल्लाका सडकहरुमा समेत कच्चि सरहकै भाडा लिने गरेको भन्दै असन्तुष्टी जनाएको छ ।

‘चाडवाड नजिकिदै गर्दा जिल्लामा रहेका यातायात कम्पनीहरुले नाफाको रुपमा मात्र हेर्नु, भाडादरमा मनोमानी ढंगले ग्रामिण जनतालाई ठग्नु, कालोपत्रे भइसकेका सडकहरुमा कच्चिकै भाडादर लागू गरिनु निकै निन्दनिय छ,’ संघका जिल्ला अध्यक्ष मन बहादुर तामाङद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।

बिभिन्न रुप र स्वरुपमा कम्पनी दर्ता गरी ट्याक्सी व्यवसायको नाममा मनपरी भाडा उठाएर ठगी भएको बताउँदै संघले उक्त बिकृत कार्यको नियमन गर्न प्रशासनलाई आग्रह समेत गरेको छ ।

चाडपर्वको अवसरमा सडकहरुको स्तरीय सरसफाई गर्न स्थानीय तहलाई आग्रह गर्दै संघले कामको पारदर्शिता हुनुपर्ने पनि बताएको छ । ग्रामिण भेगमा बजारीकरण बिस्तारसँगै म्यान नाँघेका अखाद्य वस्तुको बिक्री वितरण र कालोबजारीको नियन्त्रण गर्न समेत संघले प्रशासनलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्