| बुधबार, कार्तिक २५, २०८३

बारपाक सुलिकोटको बार्षिक प्रगति : चौतारा सुधारदेखि सडक स्तरोन्नतीसम्म

बारपाक सुलिकोट गाउँपालिकाको गत आर्थिक बर्ष २०७९÷८० को खर्च प्रगति ७८.९८ प्रतिशत रहेको छ । चालु तर्फ ८१.१४ र पुँजीगत तर्फ ७४.३६ प्रतिशत खर्च प्रगति रहेको पालिकाले जनाएको छ ।

पालिकाका अनुसार गत आवको चालु र पुँजीगत तर्फको कुल ७५ करोड ५९ लाख बजेटमध्ये ५९ करोड ७० लाख मात्र खर्च भएको छ । आर्थिक बिकासतर्फको खर्च प्रगति ५२.२६ प्रतिशत रहेको पालिका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले बताए । उनका अनुसार गत आव आर्थिक बिकासतर्फ ७ करोड १० लाख रकम विनियोजन भएको थियो । जसमध्ये ३ करोड ७१ लाख मात्र खर्च भएको छ ।

सामाजिक बिकास तर्फ विनियोजन भएको ३२ करोड ८ लाख रकममध्ये २७ करोड ६३ लाख खर्च भएको उनले जानकारी दिए । यसतर्फको खर्च प्रतिशत ८६.१४ रहेको उनको भनाइ छ । ‘पूर्वाधार बिकासतर्फ १७ करोड ५५ लाख रकम विनियोजन भएको थियो,’ उनले भने, ‘त्यसमा १३ करोड ६७ लाख खर्च भयो,’ उनले भने । खर्च प्रतिशत ७७.८४ रहेको उनले बताए । त्यस्तै सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रको खर्च प्रगति ७६.०४ प्रतिशत रहेको छ । उक्त क्षेत्रमा ३ करोड १३ लाख रकम विनियोजन भएकोमा २ करोड ३८ लाख खर्च भएको पालिकाले जनाएको छ ।

पालिकाका अनुसार कार्यालय संचालन तथा प्रशासनिक तर्फ १५ करोड ७१ लाख रकम विनियोजन भएकोमा १२ करोड ३० लाख खर्च भएको छ । जसको खर्च प्रगति ७८.३१ प्रतिशत रहेको छ । गत आव पालिकाले एक लाखभन्दा कमका सात वटा योजनामा बजेट विनियोजन गरेको थियो । त्यस्तै एक लाखदेखि पाँच लाखसम्मका २ सय ५२ योजनामा बजेट विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए । ‘दश लाखदेखि ५० लाखसम्मका १९ योजना थिए, ५० लाखभन्दा माथिका दुई वटा योजनामा मात्र बजेट विनियोजन गरेका थियौ,’ उनले भने ।

अघिल्लो आव २०७८÷७९ को तुलनामा गत आव २०७९÷८० मा आन्तरिक राजश्वमा पनि बृद्धि भएको पालिकाले जनाएको छ । कुल ७७ प्रतिशतले आन्तरिक राजश्वमा बृद्धि भएको आचार्यले बताए । ‘आर्थिक बर्ष २०७८÷७९ मा हाम्रो आन्तरिक राजश्व ६६ लाख ४६ हजार रहेको थियो,’ उनले भने, ‘२०७९÷८० मा बढेर एक करोड १८ लाख पुग्यो ।’ सबैभन्दा बढी ढुंगागिटी वापत २९ लाख ४६ हजार राजश्व रकम संकलन भएको उनले जानकारी दिए ।

गत आव पालिकाले चार वटा ऐन (जुवा नियन्त्रण तथा नियमन ऐन, आर्थिक ऐन, विनियोजन ऐन, मदिरा नियन्त्रण तथा नियमन एने), दुई वटा मापदण्ड (विपद राहत मापदण्ड र भू–उपयोग क्षेत्र वर्गिकरण मापदण्ड) र आठ वटा कार्यविधि निर्माण गरेको छ । २०७४÷७५ देखि हालसम्म कुल २३ वटा ऐन, ५ वटा नियम÷नियमावली, ७ वटा निर्देशिका, ७ वटा मापदण्ड र ४८ वटा कार्यविधि निर्माण भइसकेको पालिकाले जनाएको छ ।

पालिकाले गत आव वडाका योजनाका लागी प्रति वडा ३१ लाखदेखि ५७ लाखसम्मको बजेट विनियोजन गरेको थियो । वडा नम्वर १ मा ३१ लाख, वडा नम्वर २ मा ४७ लाख ३० हजार, वडा नम्वर ३ मा ४२ लाख, वडा नम्वर ४ मा ५५ लाख र वडा नम्वर ५ मा ४६ लाख २० हजार रकम विनियोजन भएको पालिकाले जनाएको छ ।

त्यस्तै वडा नम्वर ६ मा ५७ लाख, वडा नम्वर ७ मा ३९ लाख र वडा नम्वर ८ मा ४५ लाख १० हजार रकम विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए । सडकको नयाँ ट्रयाक निर्माण, सडक स्तरोन्नती, सामुदायिक भवन निर्माण, पार्क÷मन्दिर÷चर्च निर्माण र चौतारा सुधारलाई पालिकाले उपलब्धीको रुपमा लिएको छ । आयोजनाका लागी जग्गा प्राप्त गर्ने झन्झटिलो प्रक्रिया, टुक्रे योजनाको बाहुल्यता, सुत्र सप्टवेयरमा लागु भएको राजश्व मोडेल पूर्ण रुपमा प्रयोगमा नआउनु प्रमुख समस्या र चुनौती रहेको पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्