
बिगतका कमी कमजोरी हटाएर सच्चिनुपर्ने बेला आएको छ : सांसद बजगाईँ
गोरखा निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईले पार्टीलाई बलियो बनाउन सबै बीच एकताको खाँचो रहेको बताएका छन् । शुक्रवार जिल्ला सदरमुकाममा सम्पन्न भएको नेपाली कांग्रेस गोरखा नगर सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उनले पार्टी बलियो बनाउन सबैले एकता प्रदर्शन गर्नुपर्ने बताएका हुन् ।
विगतमा पार्टीका नेतृत्वहरुले गरेको कमीकमजोरीका कारण पार्टीप्रति जनताको नकरात्मक धारणा रहेको उनको भनाइ छ । ‘हामी काम गरिराखेको छौँ, तर पार्टीका पुराना पुस्ताले गरेको गल्ती कमजोरीका कारण जनमनमा बिझेको वितृष्णा मेटाउन अझै धेरै कसरत गर्नुपर्ने अबस्था छ’, उनले भने, ‘एकातिर पुरानो दाग मेटाउनु पर्नेछ, अर्कातिर नयाँ पार्टीहरुले दिएका चुनौतीसंग जुध्नु पर्नेछ । नेपाली काँग्रेस लगायतका अन्य पुराना दलहरुले सत्तामा हुदाँ धेरै गल्ती गरेकाले अब सच्चिनुपर्ने बेला आएको छ ।’
नेपाली कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले भ्रष्टाचार उन्मुख कुनै काम वा गतिविधि गरेमा खबरदारी गर्न र राम्रा कामको प्रचारप्रसार गर्न समेत उनले अनुरोध गरे । नयाँ पार्टीहरुको आक्रमण बढ्न थालेको बताउँदै उनले पार्टी भित्रको कमीकमजोरी हटाउँदै सबै एकजुट भएर जनताको सेवामा लाग्नुपर्ने बताए ।




