| बुधबार, कार्तिक २५, २०८३

बुढा नेतामाथि दोष थुपारेर निस्कृय बस्न युवापुस्तालाई छुट छैन : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले अरुमाथि दोष थुपारेर पानीमाथि ओभानो बन्ने छुट युवापुस्तालाई नभएको बताएका छन् ।


शुक्रवार नेपाली कांग्रेस गोरखा नगर समितिले आयोजना गरेको नगरसम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले बुढा नेताले कांग्रेस बिगारे भन्ने आरोप लगाएर आफूहरु निस्कृय भएर बस्न छुट नभएको बताए । ‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभापतिजी) लाई परिर्वतन गर्छु र कांग्रेस बनाउँछु भन्नुभन्दा पहिले ५९ वर्षको शुरेन्द्र पाण्डे, ४६ वर्षका गगन थापा र ३८, ४० का अन्य नेता अझै धेरै परिर्वतन हुनुपर्छ’, उनले भने, ‘अब तीन वर्षपछि अर्को चुनाव हुन्छ । हामी अझैसम्म हिजो टिकट किन छुट्यो भनेर रोइकराई गरिरहेका छौँ । यो प्रवृत्तिले हिँजो पनि बिग्रियो, भोलि पनि बिग्रिनेछ । त्यसैले बिगत कोट्याएर बस्ने होइन, अब कमीकमजोरीलाई करेक्सन गरेर अघि बढ्नुपर्छ ।’


नगर सम्मेलनमा बोल्ने नेता कार्यकर्ताहरुले गत (२०७९बैशाख) को स्थानीय निर्वाचन, टिकट बितरण लगायतको कुरा गरेपछि मुख्यमन्त्री पाण्डेले भने यसो भनेका हुन् ।


आफूबाहेक सबै नेतालाई बेठिक देख्ने प्रवृत्ति हावी भएको भन्दै मुख्यमन्त्री पाण्डेले भने ‘आफु मात्र असल देख्ने हाम्रो प्रवृत्ति खराब छ । हरेकले खराब प्रवृत्ती बदल्यौँ भने को खराब, को असल भनेर अलमलिनु पर्दैन ।’ वडा सभापतिदेखि केन्द्रीय सभापतिसम्मको अधिकार विधानमा लेखिएको बताउँदै उनले हरेक नेता कार्यकर्ताले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने कांगे्रसको संगठन सुदृढिकरण र बिस्तार हुने बताए ।


गाउँघरमा हुने बिकास आयोजनामा सहभागीता जनाउने, नेतृत्व गर्ने, जनतासँगको सम्बाद बाक्लो बनाएमा संगठन बिस्तार गर्न सकिने उनले बताए । गाउँमा रहेका मानिस रोजगारीको अभावले बसाइँ सर्ने गरेको बताउँदै उनले भने, ‘गाउँ सहर जता बसेका मानिस भएपनि हामीले उत्पादन र रोजगारीसँग जोड्न सकेनौँ भने बढ्दो क्रममा रहेको बसाइँसराइको डरलाग्दो स्थिति रोक्न सकिँदैन ।’ गण्डकी प्रदेश सरकारले उत्पादनको क्षेत्रमा लगानी बढाईरहेको र त्यसमा सहभागी हुन उनले अनुरोध समेत गरे ।


प्रदेश सरकारले प्राथमिकताका आधारमा बजेट बिनियोजन गरेको बताउँदै उनले यस वर्षको वार्षिक बिकास कार्यक्रममा ३० लाख भन्दा कमका सडक योजना, १० लाख भन्दा कमका सिंचाई, खानेपानीका योजनामा बजेट बिनियोजन नगरिएको बताए । ‘देखिनेगरी विकास गर्न, सुरु भएका योजना समयमै सम्पन्न गर्न प्राथमिकता र आवश्यकताका आधारमा बजेट बिनियोजन गरिएको छ’, उनले भने ‘भवन निर्माण जस्ता अनुत्पादक क्षेत्रमा नयाँ योजना छुट्याएका छैनौँ, हाम्रो प्राथमिकतामा यो छैन ।’ भोटका लागि स–साना टुक्रे योजना, सामुदायिक भन्दापनि व्यक्तिगत योजना धेरै आउने गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले मुख्य, मुख्य योजना छिटो गर्ने नीति प्रदेश सरकारको रहेको बताए ।


नगर सभापति चन्दनबाबु खत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा गोरखा १ का सांसद राजेन्द्र बजगाई, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतार, गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठ, जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, महासमिति सदस्य राजनराज पन्त लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्