
तीन महिने आधारभूत सिलाई कटाई तालिम सुरु
जिल्लामा तीन महिने आधारभूत सिलाई कटाई तालिम सुरु भएको छ । उद्योग वाणिज्य संघ गोरखाको आयोजना तथा उवासंघ महिला उद्यमी विकास समितिको समन्वयमा बिहिवारदेखि तालिम सुरु भएको हो ।
तालिमको एक कार्यक्रमका बीच गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले उद्घाटन गरेकी छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले तालिमले आर्थिक तथा व्यवसायिक रुपमा महिलाहरुलाई सबल बनाउन सहयोग पु¥याउने बताइन् । सिकेको सिपलाई व्यवहारमा उतार्दै सामूहिक रुपमा व्यवसाय सुरु गर्न उनले सहभागीहरुलाई सुझाव समेत दिइन् ।
उवासंघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले महिलाहरुलाई उद्यमी बनाएर आर्थिक रुपमा सवल बनाउने उद्देश्यका साथ तालिम संचालन गरिएको बताए । तीन महिनासम्म चल्ने तालिममा २० जनाको सहभागीता रहेको छ । कार्यक्रमकै अवसरमा ६ महिने आधारभूत एडभान्स सिलाई कटाई तालिमको पनि समापन गरिएको छ । संघका अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिका उपप्रमुख थोकरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा संघका केन्द्रीय सदस्य जीवनज्योती श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्के, सहभागी पुष्पालक्ष्मी शाक्य लगायतले मन्तव्य राखेका थिए ।




