
सिरानचोक गाउँपालिकाको बार्षिक प्रगति : दूध चिस्यान केन्द्र स्थापनादेखि आधारभूत अस्पताल निर्माणसम्म
सिरानचोक गाउँपालिकाको गत आर्थिक बर्ष २०७९÷८० को खर्च प्रगति ६८.८८ प्रतिशत रहेको छ । चालुतर्फ ७८.०८ र पुँजीगततर्फ ५४.२४ प्रतिशत खर्च प्रगति रहेको गाउँपालिकाले जनाएको छ । ९० करोड ९२ लाखको कुल बजेटमध्ये ६२ करोड ६२ लाख खर्च भएको प्रमुख प्रशासकीय अधिकृत प्रकाश घिमिरेले बताए ।
उनका अनुसार गत आव आर्थिक विकासतर्फ ६ करोड ६० लाख रकम विनियोजन भएको थियो । जसमध्ये २ करोड ६२ लाखमात्र खर्च भएको छ । ‘सामाजिक बिकासतर्फ ३४ करोड ४१ लाख रकम विनियोजन गरेका थियौ,’ घिमिरेले भने, ‘तर २८ करोड ८२ लाखमात्र खर्च भयो ।’ पूर्वाधार बिकास तर्फ २६ करोड ९१ लाख विनियोजन भएकोमा १४ करोड ९२ लाख खर्च भएको उनले जानकारी दिए ।
त्यस्तै सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा विनियोजन गरिएको रकममध्ये १ करोड २३ लाख रकम खर्च भएको छ । उक्त क्षेत्रमा कुल ३ करोड ११ लाख रकम विनियोजन भएको थियो । कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रतर्फ १९ करोड ९५ लाख रकम विनियोजन भएकोमा १५ करोड १ लाख रकम खर्च भएको पालिकाले जनाएको छ । गत आव पालिकाले वडा स्तरमा पनि योजना अनुसारको रकम विनियोजन गरेको थियो ।
पालिकाका अनुसार वडा नम्वर १ मा एक करोड ११ लाख, वडा नम्वर २ मा एक करोड ४४ लाख, वडा नम्वर ३ मा १ करोड ११ लाख, वडा नम्वर ४ मा ८१ लाख र वडा नम्वर ५ मा एक करोड ४५ लाख रकम विनियोजन भएको थियो । त्यस्तै वडा नम्वर ६ मा ९३ लाख, वडा नम्वर ७ मा एक करोड ६० लाख र वडा नम्वर ८ मा एक करोड ८५ लाख रकम विनियोजन भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए ।
त्यस्तै पालिकाले गत आव ६ वटा कार्यविधि निर्माण गरेको छ ।
२०७४÷७५ देखि हालसम्म १४ वटा ऐन, ५ वटा निमय÷नियमावली, ८ वटा निर्देशिका, ६ वटा मापदण्ड र ४२ वटा कार्यविधि निर्माण भइसकेको पालिकाले जनाएको छ । पालिकाले गत आव पालिकाभित्रका बेरोजगारहरुको संख्याको पनि लगत संकलन गरेको थियो ।
कार्यालयको तथ्याङ्क अनुसार बिभिन्न वडामा गरी कुल ९ सय ३ जना बेरोजगार रहेका छन् । वडा नम्वर १ मा १ सय ११, वडा नम्वर २ मा १ सय ४२, वडा नम्वर ३ मा ३३, वडा नम्वर ४ मा १ सय ४२, वडा नम्वर ५ मा १ सय १३, वडा नम्वर ६ मा १ सय २३, वडा नम्वर ७ मा ९८ र वडा नम्वर ८ मा १ सय ४१ जना बेरोजगार रहेको पालिकाले जनाएको छ ।
जौवारीमा सुरु भएको १५ शैयाको आधारभूत अस्पताल निर्माण कार्यलाई पालिकाले प्रमुख उपलब्धीको रुपमा लिएको छ । पालिकामा दुध चिस्यान केन्द्र स्थापना, सिरानचोक कोट र श्रीनाथ मण्डलीमा मन्दिर परिसरमा पार्क निर्माण, पालिकाभित्रका सडक स्तरोन्नती लगायतका कार्यलाई पनि पालिकाले उपलब्धी मानेको छ । कर्मचारी र स्रोत साधनको अभाव प्रमुख समस्या रहेको पालिकाले जनाएको छ । जंगली जनावरको आतंकले समेत समस्या बनाउने गरेको बताइएको छ ।




