| बुधबार, कार्तिक २५, २०८३

गोरखा नगरपालिकाको बार्षिक प्रगति : नगरवासीलाई आधारभूत स्वास्थ्य सेवादेखि निशुल्क नक्सासम्म

गोरखा नगरपालिकाले गत आर्थिक बर्ष २०७९÷८० मा कुल बजेटको ७६.१६ प्रतिशत खर्च गर्न सफल भएको छ । चालु तर्फ ८०.९८ र पुँजीगत तर्फ ६७.२५ प्रतिशत खर्च गर्न सफल भएको समीक्षा गोष्ठीमा पालिकाले जनाएको छ ।

‘गत आवको कुल बजेट एकअर्व ७ करोड ३५ लाख थियो,’ नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले भने, ‘त्यसमध्ये ८१ करोड ७७ लाख खर्च भयो ।’ उनका अनुसार गत आवमा नगर स्तरीय योजनासहित बिभिन्न वडामा ९ सय ६३ योजना रहेका थिए । उक्त योजनाहरुका लागि ४६ करोड ६८ लाख रकम विनियोजन भएको थियो । जसमध्ये ३० करोड ८१ लाख रकम खर्च भएको छ । छनोट भएका योजनामध्ये ८६ वटा सम्पन्न हुन सकेनन् ।

अधिकांश वडामा एक करोडका दरले रकम विनियोजन गरिएको थियो । कुल १४ मध्ये १२ वटा वडामा एक करोडका दरले रकम विनियोजन भएको इन्जिनियर ढकालले बताए । उनका अनुसार वडा नम्वर ६ र ८ मा भने अन्य वडाभन्दा कम रकम विनियोजन भएको थियो । वडा नम्वर ६ मा ९८ लाख र वडा नम्वर ८ मा ९४ लाख रकम विनियोजन भएको उनले जानकारी दिए ।

आर्थिक बर्ष २०७४÷७५ देखि हालसम्म १५ वटा ऐन निर्माण भइसकेको जनाउँदै नगरपालिकाले गत आर्थिकवर्षमा एउटा मात्र ऐन निर्माण गरिएको बताएको छ । त्यस्तै हालसम्म दुई वटा नियम÷नियमावली, चार वटा निर्देशिका, दुई मापदण्ड र ५१ वटा कार्यविधि निर्माण भएको इन्जिनियर ढकालले बताए ।

स्थानीय रुपमा कानून निर्माण गरी कार्यान्वयन गरेको बिषयलाई पालिकाले उपलब्धीको रुपमा लिएको छ । त्यस्तै स्रोतहरुको पहिचान गरी राजश्व संकलन, नीजि क्षेत्र साझेदारीमा फोहोरमैला व्यवस्थापन गरिएको लगायतका बिषयलाई पनि नगरपालिकाले प्रमुख उपलब्धीमा समावेश गरेको छ ।

त्यस्तै नगरबासीहरुको नीजि आवास (भवन) को नक्सा निर्माण निःशुल्क गरिएको, गोरखा अस्पतालसंग सम्झौता गरी नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराइएको कार्यलाई पनि नगरपालिकाले उपलब्धीको रुपमा लिएको छ ।

संघीय, प्रादेशिक र स्थानीय तहका कानून नबन्दा समस्या भएको नगरपालिकाले जनाएको छ । त्यस्तै लक्ष्य अनुसारको संघ तथा प्रदेशबाट समानीकरण र राजश्व बाँडफाँड तर्फको रकम निकासा नभएको कारणले केही योजना तथा कार्यक्रमहरुको भुक्तानी दिन समस्या परेको समेत नगरपालिकाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्