
परोपकार क्याम्पसमा हुदैन पढाइ, विद्यार्थीहरु भर्ना हुँदै, जाँच दिँदै
१६ बर्षअघि स्थापना भएको गोरखाको परोपकार आदर्श क्याम्पस जौबारीमा पढाइ हुन छाडेको छ । बिगत चारबर्षदेखि कक्षा हुन छाडेको क्याम्पस प्रशासनले जनाएको छ ।
स्नातक तहका विद्यार्थी संख्या अत्याधिक कम भएको र शिक्षक पनि नभएपछि क्याम्पसमा पढाइ हुन छाडेको क्याम्पस प्रशासनले जनाएको छ । ‘तीन(चार बर्ष भयो, पठनपाठन नभएको’, प्रशासनिक कक्षमा कार्यरत कर्मचारी विनायक सिलवालले भने, ‘पहिलो बर्षमा छ जना छन् ।
दोस्रोबर्षमा चार जना, तेस्रो बर्षमा पाँचजना, चौथोबर्षमा चार जना विद्यार्थी छन् । सबैजना टाढा, टाढाका विद्यार्थीहरु छन् । त्यसमाथि पनि सबै विद्यार्थी विभिन्न पेशामा कार्यरत कर्मचारीहरु हुनुहुन्छ । फर्म भर्न, परीक्षा दिन र प्रयोगात्मकमा मात्र आउनुहुन्छ । अरु बेला विद्यार्थीहरु पनि आउनु हुन्न । पूर्णकालीन र आंशिकतर्फ शिक्षकहरु पनि हुनुहुन्न ।’ यहाँ शिक्षा, अंग्रेजी, स्वास्थ्य र नेपाली विषयको पढाइ हुने उनले बताए ।
परोपकार आदर्श बहुमुखी क्याम्पस २०६४ सालमा स्थापना भएको हो । त्यतिबेला शिक्षा र व्यवस्थापन संकाय सञ्चालन हुने गरी खुलेको सो क्याम्पसमा अहिले व्यवस्थापन संकायमा विद्यार्थी छैनन् । शिक्षा संकायतर्फ जम्मा १९ जना मात्र रहेका छन् । क्याम्पसको जिम्मा लिने क्याम्पस प्रमुख पनि छैनन्, अरु आंशिक तथा पूर्णकालीन शिक्षकहरु पनि नभएको क्याम्पसले जनाएको छ ।
परोपकार आदर्श मावि जौबारीबाट कक्षा १२ उतीर्ण गरेकाहरु पनि यहँीँको क्याम्पसमा भर्ना नहुने र छरछिमेकका विद्यालयबाट पनि विद्यार्थी भर्ना हुन नआउनाले समस्या भएको क्याम्पस व्यवस्थापनले जनाएको छ । ‘गाउँका हाइस्कूलहरु रित्तिदै गएका छन् ।
अलिअलि भएका विद्यार्थीहरु पनि कक्षा ११, १२ उतीर्ण गरेपछि नसक्नेहरु पढ्नै छाडिदिन्छन् । सक्नेहरु पनि विदेशतिर हानिन्छन्’, क्याम्पस सञ्चालक समितिका अध्यक्ष मनुबहादुर गुरुङ भन्छन्, ‘यो समस्या हाम्रो क्याम्पसमा मात्र होइन, अरु क्याम्पसहरुमा पनि उस्तै छ ।’ यस्तै हालतमा क्याम्पस सञ्चालन गरिरहने वा नगर्ने भन्ने बारेमा बहश नभएको उनले बताए।




