
हिक्लुङघाटको झोलुङ्गे पुल मर्मतपछि संचालनमा, धवादीघाटको मर्मत हुदैँ
लगातारको बर्षाले क्षति पु¥याएको गोरखाको हिक्लुङघाट र धादिङ जोड्ने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल मर्मतपछि संचालनमा आएको छ । गोरखाको गण्डकी गाउँपालिका–६ हिक्लुङघाट र धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोड्ने उक्त पुल गत भदौ ६ गतेबाट संचालनमा आएको गाउँपालिकाले जनाएको छ ।
लगातार बर्षाका कारण त्रिशुली नदीमा आएको बाढीले गत साउन २९ गते राती पुलमा क्षति पु¥याएको थियो । मानिस आउजाउ गर्न नमिल्ने गरी पुलको प्यानलहरु बगाएको थियो । ‘दश वटा जति प्यानल बगाएको थियो,’ गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले भने, ‘स्थानीय पूर्वाधार बिकास तथा कृषि सडक बिभाग अन्तरगतको सस्पेन्सन ब्रिज डिभिजन पुल्चोकबाट प्राविधिक टोली आएर पुल मर्मत गर्नुभएको हो ।’
त्यस्तै गण्डकी गाउँपालिका–७ र धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ जोड्ने धवादीघाटस्थित त्रिशुली नदी माथिको झोलुङ्गे पुल पनि मर्मत भइरहेको उनले जानकारी दिए । बर्षाका कारण त्रिशुली नदीमा पानीको बहाव बढेर पुललाई छोएपछि क्षति पुगेको थियो । ‘नदीको पानीको सतह पुलसम्म आइपुग्यो, बगाएर ल्याएको रुख र काठहरु पुलको लठ्ठामा अड्किएर बसे,’ गाउँपालिका अध्यक्ष तिमिल्सिनाले भने, ‘लठ्ठा लत्रिएर पुलमा आउजाउ गर्नै समस्या भएको थियो ।’
मंगलवार सशस्त्र प्रहरी बल नेपाल नम्वर २९ गुल्म गोरखाबाट खटिएको टोलीले पुलमा अड्किएको रुख तथा काठका मुढाहरु हटाएको गाउँपालिको जनाएको छ । प्रहरी निरीक्षक भाष्कर बस्नेतको नेतृत्वमा गएको नौ जनाको टोलीले पुलको लठ्ठामा अड्किएर बसेका काठहरु हटाएको गुल्मपति डिएसपी सुमन बोगटीले बताए । पुलको लठ्ठा तान्ने काम मात्र बाँकी रहेको उनले जानकारी दिए ।
लठ्ठा तान्नका लागि सस्पेन्सन ब्रिज डिभिजन पुल्चोकलाई आग्रह गरिएको गाउँपालिका अध्यक्ष तिमिल्सिनाले बताए । मानिसहरु जोखिम मोलेर उक्त पुलबाट आउजाउ गर्दै आएको उनले जानकारी दिए ।




