| बुधबार, कार्तिक २५, २०८३

दरौदी पत्रिकाको २६ औँ वार्षिकोत्सव : सत्य, तथ्य, निष्पक्ष भएर सूचना संप्रेषण गर्न सुझाव

दरौदी प्रकाशन समूहद्वारा प्रकाशित दरौदी दैनिक पत्रिका २६ औँ वर्षमा प्रवेश गरेको छ ।
२०५५ साल वैशाख १ गतेदेखि पाक्षिक रुपमा प्रकाशन हुदै आएको यस पत्रिका २०६७ साल असोज १ गतेबाट दैनिक बनेको थियो । सोही अवसरमा शनिबार एक कार्यक्रमको आयोजना गरी पत्रिकाले आफ्नो वार्षिक उत्सव मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका नेपाली कांग्रेस, संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले अहिलेको समाज अराजकता र निराशातर्फ गइरहेकाले पत्रकारहरुले विकासको विषयमा कलम चलाई आशावादी बनाउनुपर्ने बताए । पत्रकारले राजनीतिक भन्दा बढि आर्थिक मुद्दालाई जोड दिएर कलम चलाउनु पर्ने उनको भनाइ छ । पत्रकारहरुको आस्था र विचार फरक भएता पनि काममा पत्रकारिताको सिद्धान्तबाट प्रेरित हुनुपर्ने बताए । पत्रकारिता भनेको लोकतन्त्रको सबैभन्दा बलियो हतियार भएकाले यसको बलले पत्रकारले समाज सुधार गर्नुपर्ने उनको भनाइ थियो । सुशासन र पारदर्शितामा नचुक्नेले पत्रकारसंग डराउनु नपर्ने उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाले पत्रकारिता समाजको ‘वाचडग’ भएकाले आफ्नो कर्तव्य निर्वाहमा नचुक्न सुझाएका थिए ।

गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले मिडिया चलाउने काम निकै नै गाह्रो रहेको बताउँदै स्वच्छ र निष्पक्ष भएर काम गर्नुपर्ने बताए । उनले सैद्धान्तिक कुराहरु मात्रभन्दा पनि व्यवहारिक पक्षलाई पनि ध्यानमा राखेर कलम चलाउनु पर्ने सुझाव दिएका थिए । सिद्धान्तले मात्र व्यहार चल्न कठिन हुने भएकाले कतिपय अबस्थामा व्यवहारिकता हेरेर समाचार संप्रेषण गर्नुपर्ने उनको राय थियो ।

सरकार र जनता बीच संचार माध्यमले पुलको भूमिका निर्वाह गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । सत्य, तथ्य समाचारले संचार माध्यमप्रति आम सर्वसाधारणको विश्वास बढ्ने उनको भनाइ थियो । पत्रकारिता क्षेत्रमा अहिले धेरै चुनौती रहेको बताउदै मिडियाको अस्तित्व हराएमा समाजको अस्थित्वसमेत हराउने उनले तर्क गरे ।

व्यवसायीहरुले गरेको राम्रो कामलई पत्रिकाले अगाडि ल्याएको र यसले समाजमा सकारात्मक प्रभाव परेको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए । दरौँदी पत्रिकाले जिल्लाभित्रका गलत कार्यहरुलाई निरन्तर खबरदारी गरिरहेको र यसले सम्बन्धित निकायहरुलाई सच्चिने मौका मिलेको उनले जानकारी दिए । समाजका देखिएका समस्याहरु पत्रिकाले समाचारमार्फत उजागर गरेर सरकारलाई सुसूचित गराएको पनि उनले बताए ।

कार्यक्रममा पत्रकार महासंघ गोरखाका कार्यबाहक अध्यक्ष नरेन्द्र ढकाल, पूर्व अध्यक्ष भीमलाल श्रेष्ठले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पूर्व अध्यक्ष श्रेष्ठले गोरखाको पत्रकारिताको इतिहास र वर्तमान अवस्थाका बारेमा जानकारी गराउँदै गोरखाको पत्रकारिता क्षेत्रमा दरौदी दैनिकको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यवाहक अध्यक्ष नरेन्द्र ढकालले संचालन माध्यम संचालन गर्नका लागि आर्थिक चुनौती बढ्दै गइरहेको बताए ।

द्रव्यशाह बहुमुखी क्याम्पस गोरखाका प्रमुख रामचन्द्र दुवाडीले दरौदी दैनिकले नै गोरखामा पत्रकारिताको विजारोपण गरेको बताए । पत्रिकालाई अझ परिष्कृत र परिमार्जन गर्दै जानुपर्नेमा समेत उनले जोड दिएका थिए ।

त्यस्तै नेपाल बार एशोसिएशन गोरखाका अध्यक्ष यादव शर्माले दरौंदी दैनिकको विगत र वर्तमानको प्रसंसा गर्दै भावी दिनमा पनि दरौंदी जस्तै बन्न, वाग्मती जस्तो(प्रदुषित) नबन्न सुझाव दिएका थिए ।

गैरसरकारी महासंघ गोरखाका उपाध्यक्ष हरि देवकोटाले गोरखाको पत्रकारिताको क्षेत्रमा दरौदी दैनिकको धेरै ठूलो योगदान रहेको बताउँदै खोजमुलक र सिर्जत्मक समाचारमा जोड दिनुपर्ने बताए । साथै जिल्लाको पत्रकारितालाई अभिभावकको भूमिका निर्वाह गर्न सुझाव दिएका थिए । मानव अधिकार सञ्जालका संयोजक यदु अधिकारीले पत्रकारिताको भाषा शुद्ध र मर्यादित हुनुपर्नेमा जोड दिएका थिए । दरौदी दैनिकका सम्पादक शिव उप्रेतीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्