| बुधबार, कार्तिक २५, २०८३

नृत्य प्रतियोगितामा द ओल्ड क्यापिटल मावि पहिलो

गोरखा नगरपालिकाको मावि स्तरीय तिज गीत नृत्य प्रतियोगितामा द ओल्ड क्यापिटल मावि रानीवन पहिलो भएको छ । द्रव्यशाह बहुमुखी क्याम्पसद्वारा शुक्रबार आयोजित गोरखा नगरपालिका भित्रको माविस्तरीय तिज गीत नृत्य प्रतियोगितामा द ओल्ड क्यापिटल पहिलो भएको हो ।

प्रतियोगितामा प्रथम भएको द ओल्ड क्यापिटलले नगद रु ६ हजार सहित प्रमाणप्रत्र प्राप्त गरेको क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले बताए । सो प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मीबजार दोस्रो र आयोजक टिम द्रव्यशाह बहुमुखी क्याम्पस तेस्रो भएका छन् । उनीहरुले क्रमश नगद रु ४ हजार पाँचसय, ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा सान्त्वना भएको महेन्द्र ज्योति मावि दरबारमार्गले नगद रु दुई हजार सहित प्रमाणपत्र प्राप्त गरेको क्याम्पस प्रमुख दुवाडीले जानकारी दिए । नगरपालिकाको माविस्तरीय तिज गीत नृत्य प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा क्याम्पसको आन्तरित तिज गीत नृत्य प्रतियोगिता समेत भएको थियो । सो प्रतियोगितामा कक्षा १२ का व्यवस्थापन संकाय समूह पहिलो, विएड दोस्रो वर्ष समूह दोस्रो र विबिएस तेस्रो वर्षको समूह तेस्रो भएको उनले जानकारी दिए । त्यस्तै, कक्षा १२ को मानविकी संकाय समूह सान्त्वना भएका छन् । उनीहरुले क्रमश नगद रु तीन हजार, दुई हजार, एक हजार र पाँच सय सहित प्रमाणपत्र प्रदान गरिएको उनले बताए । क्याम्पसको आन्तरिक नृत्य प्रतियोगितामा नौ समूहको सहभागिता रहेको थियो । राष्ट्रिय बाल दिवस तथा हरितालिक तिज २०८० को अवसरमा सो कार्यक्रम आयोजना गरिएको क्याम्पसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्