
पत्रकार महासंघ गोरखाको भवन मुख्यमन्त्रीद्वारा उद्घाटन
नेपाल पत्रकार महासंघ गोरखा शाखाको भवन निर्माण कार्य सम्पन्न भएको छ । करिव ५२ लाखको लागतमा गोरखा नगरपालिका–८ समीचौतारामा भवन निर्माण भएको हो ।
भवन निर्माणका लागि गण्डकी प्रदेश सरकार, गोरखाका स्थानीय तह, विभिन्न संघसंस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गरेको पत्रकार महासंघ गोरखाका सचिव विकास मरहट्टाले बताए ।
नवनिर्मित भवनको शनिवार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै उनले महासंघको भवनका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्ष थप १५ लाख बजेट विनियोजन गरेको बताए ।
पत्रकारहरुको क्षमता अभिवृद्धि एवं समग्र पत्रकारिता क्षेत्रको विकासका लागि बिभिन्न कार्यक्रमहरु समेत ल्याएको उनले जानकारी दिए । ‘गण्डकी प्रदेशका पत्रकारहरुको निशुल्क स्वास्थ्य वीमा गर्ने तयारी गरेका छौ,’ उनले भने, ‘संचारमाध्यमहरुलाई लोककल्याणकारी बिज्ञापनको बजेट थप गरेका छाँै, पत्रकार लेखनवृत्ति कार्यक्रम पनि संचालन हुनेछ ।’
बिभिन्न जिल्लामा महासंघको निर्माणाधीन भवनका लागि बजेट विनियोजन समेत गरिएको उनले बताए । आमसंचार बिधेयेक संसदमा दर्ता भई आवश्यक प्रक्रिया अघि बढेको बताउँदै उनले उक्त बिधेयक पत्रकारहरुको हकहितमा रहेको समेत बताए ।
नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाको अध्यक्षता तथा मुख्यमन्त्री पाण्डेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, गण्डकी प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपाने, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा, नेपाल पत्रकार महासंघ गोरखाका संस्थापक अध्यक्ष किशोरजंग थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको अवसरमा भवन निर्माणका लागि निःशुल्क जग्गादान गर्ने गोरखा नगरपालिका–८ रानीवन निवासी शम्भु खत्रीलाई सम्मान गरिएको छ । दोसल्ला ओढाएर र कदरपत्रले उनलाई सम्मान गरिएको बताइएको छ ।
त्यस्तै कार्यक्रमकै अवसरमा भवन निर्माणका लागि सहयोग गर्ने सरकारी कार्यालय, बिभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई पनि सम्मान गरिएको महासंघका सचिव मरहट्टाले जानकारी दिए । कार्यक्रममा पत्रकार महासंघ गोरखाकी उपाध्यक्ष रेनु श्रेष्ठले स्वागत मन्तव्य सहित नवनिर्मित भवनको आयव्यय प्रस्तुत गरेकी थिइन् ।




