
कृष्णजन्माष्टमीको अवसर पारेर राधाकृष्ण मन्दिरको उद्घाटन
गोरखा नगरपालिका वडा नम्वर १२ दशकिलोमा राधाकृष्ण मन्दिर निर्माण भएको छ । गण्डकी प्रदेश, नगरपालिका र वडा कार्यालयबाट विनियोजित रकमले मन्दिर निर्माण भएको हो । मन्दिरसँगै ट्रष्ट भवन पनि निर्माण गरिएको वडाध्यक्ष डिलबहादुर थापाले बताए ।
‘करिव दुई सय जना अट्ने ट्रष्ट भवन निर्माण भएको छ,’ उनले भने, ‘मन्दिरसम्म जाने सिढि बाटो बनाएर रेलिङ लगाउने काम पनि भएको छ ।’ मन्दिर परिसर आसपास करिव डेढ सय मिटर ब्लक समेत बिछ्याइएको उनले जानकारी दिए । कुल लागत २२ लाख रहेको उनले बताए ।

उनका अनुसार गण्डकी प्रदेश सरकारबाट दश लाख, गोरखा नगरपालिकाबाट सात लाख र वडा कार्यालयका पाँच लाख रकम विनियोजन भएको थियो ।
सार्वजनिक जग्गामा निर्माण गरिएको उक्त मन्दिरको कृष्णजन्माष्टमीको अवसर पारेर वुधवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका सांसद नन्दप्रसाद न्यौपानेले मन्दिरको उद्घाटन गरेका हुन् ।
स्थानीय दरौदी आमा समूहकी अध्यक्ष राममाया परियारको अध्यक्षता तथा गण्डकी प्रदेश सांसद न्यौपानेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, पूर्व मेयर राजनराज पन्त, वडाध्यक्ष थापा लगायतले मन्तव्य राखेका थिए ।
मन्दिर उद्घाटनको अवसरमा रुद्रीपाठसँगै लाख वत्ति बाल्ने कार्यक्रम समेत गरिएको बताइएको छ ।




