
तीज पर्वलाई भड्किलो र खर्चिलो नबनाउन प्रशासनको आग्रह
तामझाम, तडभडक र खर्चिलो हुने गरी भड्किलो रुपमा तीज पर्व नमनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । वुधवार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले आफ्नो परम्परा, सामाजिक रितिरिवाजलाई निरन्तरता दिने तथा सम्वद्र्धन गर्ने वाहेकका अन्य खर्चिला तथा महँगा कार्यक्रम नगर्न आग्रह गरेको हो ।
‘बिगत केही बर्ष यता हरितालिका तीज पर्व मनाउने नाममा अत्यन्त खर्चिला तथा तडकभडक कार्यक्रम गर्ने प्रवृत्तिका कारण बिभिन्न बिकृति बिसंगति एवं सामाजिक अपराधलाई प्रोत्साहन पुगेको देखिन्छ,’ सूचनामा भनिएको छ ।
सु–संस्कार कायम गर्ने कार्यमा सहयोग गर्न प्रशासनले राजनीतिक दल, नागरिक समाज, पेशागत संघसंस्था, संचारकर्मी, महिला सञ्जाल लगायत सम्पूर्ण जिल्लावासीलाई आग्रह समेत गरेको छ ।
भड्किलो रुपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरी कोही कसैले सार्वजनिक स्थल, पार्टी प्यालेस लगायतका अन्य स्थानहरुमा कानून विपरित रकम संकलन गर्ने उदेश्यले मेला, महोत्सव आयोजना गरेमा कानून अनुसार कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ ।




