| बुधबार, कार्तिक २५, २०८३

सिरानचोकमा स्थानीय पाठ्यक्रम पढाउन पाठ्यपुस्तक तयार

सिरानचोक गाउँपालिकाको विद्यालयमा स्थानीय पाठ्यक्रम पढाउन पाठ्यपुस्तक तयार गरिएको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा वडा नं. ६ स्थित हिमाली माध्यमिक विद्यालयले पाठ्यपुस्तक तयार गरेको हो ।


कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गर्ने, गराउने उद्देश्यले ‘स्थानीय मातृभाषा(गुरुङ)’ नामको पाठ्यपुस्तक प्रकाशन गरेको छ ।

पाठ्यपुस्तकमा सिरानचोक गाउँपालिकाको चिनारी समावेश गरिएको छ । त्यस्तै सिरानचोक गाउँपालिकाको पर्यापर्यटन, सिरानचोक गाउँपालिकामा धेरैजसो बसोबास रहेको गुरुङ समुदायको इतिहास, कला, भेषभुषा, धर्म, संस्कार, संस्कृति पनि समेटिएको छ ।

त्यस्तै गुरुङ जातिको सामाजिक मूल्य, मान्यता, गुरुङ भाषामा प्रयोग हुने खेमा लिपि, खेमा लिपिमा प्रयोग हुने व्यवहारिक व्याकरण, गुरुङ भाषाको शव्दभण्डार, तमु राष्ट्रिय गीत पनि स्थानीय पाठ्यपुस्तकमा समावेश गरिएको छ ।

सिरानचोक गाउँपालिकामा खेती गरिने बाली, बिऊ बिरुवा, अन्न, फलफूल साथै सो पाठ्यपुस्तकमा गुरुङ भाषाका बार, महिना, वर्ग लगायतका विषयबस्तु पनि समेटिएको छ । त्यसैगरी सिरानचोक गाउँपालिकाका गुरुङ समुदायका राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तित्वको परिचय पनि पुस्तकमा समेटिएको छ ।

सिरानचोकको भौगोलिक अवस्थिति, जलवायु, जनसंख्या, सीमानामा पर्ने गाउँपालिकाहरु, सिरानचोकभित्र रहेका मुख्यमुख्य गुरुङ बस्तीहरुको परिचय पनि पुस्तकमा छ । गुरुङ जातिका २० प्रकारका थरहरुको परिचय पनि समेटिएको छ ।

सो पुस्तकका सम्पादक संयोजकमा सोही विद्यालयका प्रधानाध्यापक वुद्धिमान गुरुङ रहेका छन् भने विद्यालय व्यवस्थापन समितिका सदस्य वुद्धिबहादुर गुरुङ र शिक्षकहरु वुधबहादुर र मुना गुरुङ रहेका छन् । सो पुस्तकका लागि स्थानीय पाठ्यक्रम विज्ञ प्रमुख केशरसिँह बस्नेत, गुरुङ भाषा विज्ञ आशबहादुर गुरुङको पनि सहयोग रहेको थियो ।

यो पाठ्यपुस्तक अहिले हिमाली मावि गाँखुमा मात्र पढाइ हुने पालिकाका गुरुङ भाषा विज्ञ बस्नेतले जानकारी दिए । यसलाई थप सुधार गर्दै पालिकाभरका गुरुङ समुदायका विद्यार्थीको बहुलता रहेका विद्यालयमा पठनपाठनको व्यवस्था मिलाउने उनले बताए ।

नेपाली भाषाको माध्यमबाट स्थानीय गुरुङ भाषामा अनुवाद गरी शिक्षण गर्ने उद्देश्यसहित सो पाठ्यपुस्तक तयार गरिएको सम्पादक संयोजक वुद्धिमान गुरुङले जानकारी दिए ।

सो पाठ्यपुस्तक पढाउन पालिकाले शिक्षकको व्यवस्था गरेको छ । ‘सो पाठ्यपुस्तक पढाउन गाउँपालिकाको अनुदान सहयोगमा सो विद्यालयमा एक जना शिक्षिका राखिएको छ’, शिक्षा शाखा प्रमुख बस्नेतले भने ।


यसअघि गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गरी सबै विद्यालयहरुलाई सोही अनुसार पठनपाठन गराउने निर्देशन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्