
पहिरोले आरुघाट–माछाखोला सडक अवरुद्ध
पहिरोका कारण आरुघाट–माछाखोला सडक अवरुद्ध भएको छ । धार्चे गाउँपालिका–७ स्थित खानेबेशी नजिकैको भीरमा बिहीवार दिउँसो गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
‘अस्तिबाट अलि अलि पहिरो झरिराखेको थियो,’ वडा सदस्य पन्दुर गुरुङले भने, ‘आज एक्कासी माथिबाट ढुंगा सहितको ठुलो पहिरो खसेर सडक नै पुरेको छ ।’ अवरुद्ध सडकका कारण अहिले सो क्षेत्रमा आवागमन समेत ठप्प रहेको उनले बताए । ‘गाडी जाने त कुनै भएन, मान्छे हिड्नका लागी पनि ठाउँ छैन,’ उनले भने ।
माथिबाटै अझै पहिरो खस्ने क्रम पूर्ण रुपमा नरोकिएको उनको भनाइ छ । पहिरो पन्छाउन समय लाग्ने बताउँदै उनले गाउँपालिकालाई समेत जानकारी गराइसकेको बताए ।
बाटो अवरुद्ध भएका कारण तत्कालका लागी सो रुट भएर आउजाउ नगर्न उनले आग्रह समेत गरेका छन् । नेपाली सेनाद्धारा निर्माण गरिएको उक्त सडक धार्चे र चुमनुव्री गाउँपालिका जाने मुख्य सडक हो ।




