
छेकम्पार सडक पनि सेनामार्फत निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधिले छेकम्पारतर्फको सडक पनि नेपाली सेनामार्फत निर्माण गर्ने व्यवस्था मिलाइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदै चुमनुब्री गाउँपालिकाका प्रमुख निमा लामाले छेकम्पारतर्फको सडक पनि सेनामार्फत निर्माण गर्ने व्यवस्था मिलाइदिन माग गरेका हुन् ।
अहिले सेनाले सामागाउँतर्फको सडक निर्माण गरिरहेको छ । सो सडक निर्माणको कार्यप्रगतिको प्रसंसा गर्दै लामाले छेकम्पारतर्फको बाटो पनि सेनाले नै बनाएमा छिटो निर्माण हुनेमा जोड दिएका हुन् ।
गोरखामा सामागाउँतर्फ रुइला नाका र छेकम्पारतर्फ ङुइला नाका छन् । रुइला नाकासम्मका लागि सडक निर्माण भइरहेको छ भने ङुइला नाकातर्फ सडक निर्माण भएको छैन । दुवै नाका समान महत्वको भएकाले दुवैतर्फ सडक निर्माण गर्नुपर्ने ज्ञापन पत्रमा लेखिएको छ ।
प्रकृति र संस्कृतिका साथै जैविक विविधताको अनुपम खुल्ला संग्रहालयको रुपमा परिचित चुमभ्यालीमा सडक बिस्तार गर्नु अति आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख छ । चुम्चेत–छेकम्पार (चुमभ्याली)– डुईला भञ्ज्याङ नाका जोड्ने सडक आयोजनाका लागि चालु आ.ब. २०८०÷८१ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट रु ५० लाख बजेट विनियोजन भएको छ ।
गाउँपालिकाको वडा नं. ३ को सिर्दिबासबाट सुरु हुने उक्त सडक निर्माण आयोजनाको सम्बन्धी सम्पुर्ण कार्य नेपाली सेना मार्फत कार्यान्वयनका लागि आवश्यक व्यवस्था गरिदिनुहुन प्रधानमन्त्रीलाई अनुरोध गरिएको उनले बताए ।
सो क्रममा पालिका अध्यक्ष लामाले घट्टेखोलादेखि फिलिम जोड्ने बुढीगण्डकीमाथि यथासीघ्र मोटरेबल पुल निर्माण प्रक्रिया सुरु गर्ने व्यवस्था मिलाइदिन पनि अनुरोध गरेका छन् ।
त्यस्तै ज्ञापन पत्रमा बिगत चारबर्षदेखि बन्द रहेको उत्तरी नाका खुला गर्न चीनसंग कुटनीतिक पहल गरिन पनि माग गरिएको छ । उत्तरी नाकाबाट दैनिक उपभोग्य सामग्री आउन नसक्दा उत्तरी गोरखाका बासिन्दाको जनजीवनमा नराम्रो असर परेको भन्दै नाका खुलाउन सहजीकरण गरिदिन ज्ञापनपत्रमार्फत अनुरोध गरिएको उनले बताए ।
त्यसैगरी चुमनुब्री गाउँपालिका निषेधित क्षेत्र घोषणा हुँदा हेलिकोप्टरमार्फत बिरामी, घाइते उद्धार गर्न कठिनाइ परेकाले निषेधित क्षेत्र घोषणा रद्ध गरी खुला गर्नु पर्ने पनि ज्ञापन पत्रमा उल्लेख गरिएको उनले बताए ।
त्यस्तै सदरमुकामबाट धेरै टाढा पर्ने हुँदा त्यहाँ बसोबास गरेको तथा आवाद गरेका जग्गाहरु दर्ता, नापनक्शा नभएको हुँदा अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउन मद्धत मागेका छन् ।
ध्यानाकर्षण पत्र बुझदै प्रधानमन्त्री दाहालले डुङला भञ्ज्याङ नाकाको मोटरबाटोको कार्य नीतिगत रुमपा प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका लामाले बताए ।
त्यस्तै, भौगलिक रुपमा अति नै विकट चुमनुब्री गाउँपालिका केन्द्र जोड्ने राष्ट्रिय महत्वको बेनीघाट लार्के सडक आयोजनाको काम पनि तीव्र गतिमा भैरहेकाले सो कार्यक्रमका लागि बजेट बढाउन माग गरिएको पनि उनले बताए ।




