
गोरखामा गतवर्ष चार वटा पुल बने
गोरखामा गत आर्थिक वर्षमा चार वटा पुल बनेको छ । आर्थिकबर्ष २०७९।०८० मा एघार किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयले दुईवटा र पूर्वाधार विकास कार्यालयबाट दुई वटा गरी चारवटा पुल निर्माण सम्पन्न गरिएको हो ।
११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयका प्रमुख पशुपति ज्ञावलीका अनुसार गतवर्ष पालुङ्टार नगरपालिका वडा नं ६ स्थित बडहरे खोलामा मोटरेबल पुल निर्माण कार्य सम्पन्न भएको छ । चारकरोड १५ लाख २५ हजार लागतमा २०७४ बाट निर्माण सुरु भएको पुल गतवर्ष सम्पन्न भएको उनले बताए ।
त्यस्तै, सोही कार्यालयबाट आरुघाट गाउँपालिकाको स्तुलखोलामा बेलिब्रीज निर्माण कार्य सम्पन्न भएको छ । चार करोड २० लाखमा गतवर्ष बेलिब्रिज पुल निर्माण कार्य सम्पन्न भएको हो । चैत्र अन्तिम साताबाट सुरु भएको काम गत असारमा सम्पन्न भएको कार्यालय प्रमुख ज्ञवालीले बताए ।
कार्यालयबाट गतवर्ष ६ किलोमिटर कालोपत्रे गरेको पनि उनले जानकारी दिए । सोमध्य ११ किलो छेवेटार भालुस्वाँरा बारपाकसम्म मात्र तीन किलोमिटर कालोपत्रे भएको कार्यालयले जनाएको छ ।
यस्तै, पूर्वाधार विकास कार्यालयबाट गत आर्थिक वर्ष २०७९÷०८० मा दुईवटा पुल निर्माण कार्य सम्पन्न भएको छ । कार्यालयका रोड इन्जिनियर दीपक बस्नेतका अनुसार गोरखा नगरपालिका १० दरौदी खोलामा ८० मिटर लम्बाइको पुल निर्माण कार्य सम्पन्न भएको हो । २०७३ सालबाट निर्माण भएको पुल गतवर्ष निर्माण सम्पन्न भएको हो । कुल चारकरोड १८ लाखमा आरसीसी मोटरेबल पुल निर्माण सम्पन्न भएको उनले जानकारी दिए ।
सोही कार्यालयबाट मान्बु र काशिगाउँ जोड्ने रिचेत खोलामा आरसीसी पुल निर्माण कार्य सम्पन्न भएको छ । चार करोड ८८ लाख लागतमा २० मिटर लम्बाइको आरसीसी पुल निर्माण कार्य सम्पन्न भएको हो । कार्यालयबाट गत वर्ष १६ किलोमिटर बाटो कालोपत्रे गरेको समेत उनले जानकारी दिए ।




