| बुधबार, कार्तिक २५, २०८३

मनमा छ भने थोरै–थोरै स्रोत जुटाएर परोपकार गर्न सकिन्छ

परोपकारी मन हुनेहरु जोकोही खाँचो परेकालाई सहयोग गरुँ गरुँ ठान्छन् । परोपकार गर्दा परम आनन्द महशुस गर्छन् । तर सहयोग कहाँ गर्ने, कसलाई गर्ने, के सहयोग गर्ने, कति सहयोग गर्ने भन्ने कुरा थाहा नहुँदा उनीहरु सहयोग गर्नबाट बञ्चित हुन्छन् ।

यस्ता अनुत्तरित प्रश्नहरु जो कसैको मनमा हुनसक्छ । ‘हरेक साँझ, विहान तीनधारे हुँदै हिँड्दा मानव सेवा आश्रमका बालबालिका देख्दा सहयोग गरुँ–गरुँ लाग्छ । तर के सहयोग गर्ने, कति रुपैयाँ अथवा कति खाद्यान्न भयो भने सहयोग गर्न मिल्छ भन्ने प्रश्नको उत्तर पाउन नसक्दा सहयोग गर्न सकिरहेको थिएनौँ’, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाका कर्मचारी शिव सुनार भन्छन्, ‘मेरो मनमा मात्र होइन, अरु साथीहरुको मनमा पनि त्यस्तै लाग्दो रहेछ ।

एकदिन हाम्रो कार्यालय र नजिकैको आरम्भ नेपालका कर्मचारीहरुका बीचमा छलफल भयो । त्यसपछि हामी मिलेर केही खाद्यान्न सामग्री लिएर सहयोग गर्न जाने निधो ग¥यौँ ।’ कर्मचारीहर आफू आफूबाट दुईसय, तीनसय, चारसय, पाँचसय गर्दै २६ हजार ७५० रुपैयाँ उठाएर खाद्यान्न खरिद गरी लगेर सहयोग गरेको उनले बताए ।

थोरै–थोरै गरी जुटाएको सहयोगले आफूहरुले १४ बोरा चामल, १ बोरा दाल, एक बोरा आलु, १० किलो क्वाँटी, ७.५ लिटर दूध लगेर सहयोग गरेको आरम्भ नेपालकी कार्यालय प्रमुख अनिता नेपालीले बताइन् । मनमा छ भने सबै कुरा सम्भव हुने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्