| बुधबार, कार्तिक २५, २०८३

सहकारीहरुले नगरपालिकाको दररेटमा मल बेचेनन्, पाएको थोरै मल पनि गोदाममै

यतिबेला गोरखामा मलको हाहाकार छ । तर गोरखा नगरपालिकाका सहकारीहरुले प्राप्त भएको मल पनि गोदाममै थन्क्याएर राखेकोे जनाएका छन् ।

गोरखा नगरपालिकाले निर्धारण गरेको दररेट अनुसार विक्री वितरण गर्न नसक्ने भन्दै सहकारीहरुले मल गोदाममै थन्क्याएर राखेका हुन् । गोरखा नगरपालिका ७ स्थित जनमुखी उपभोक्ता सहकारीका अध्यक्ष किशोर रेग्मीले सहकारीसँग आवश्यक समन्वय नै नगरी नगरपालिकाले मलको दररेट निर्धारण गरेको बताए । मलको व्यवस्थापन खर्च केही नजोडी अव्यवहारिक तरिकाले दररेट निर्धारण गरिएको भन्दै सो दररेटमा विक्री वितरण गर्न नसकिने उनले बताए ।

उनका अनुसार यो वर्ष सहकारीमा युरिया र डिएपी गरेर २ सय ९० बोरा मल प्राप्त भएको थियो । नगरपालिका भित्रका १४ वडाका मल उपभोक्ता समिति, प्रशासन कार्यालय, सम्बन्धित निकायको वैठक बसेर मलको उचित दररेट निर्धाण गर्नुपर्नेमा त्यसो नगरिँदा मलको मूल्य निर्धारण व्यवहारिक नभएको उनले बताए । सहकारीको उपभोक्ताहरुकै लगानीमा मल ल्याएकाले उपभोक्ताहरुलाई वितरण गर्न भने कुनै समस्या नभएको पनि उनले बताए । वडा नं ७ मा वार्षिक रुपमा आठ सय ४० बोरा मल आवश्यक पर्ने उनको भनाइ छ ।

गोरखा नगरपालिका १० मा मल विक्री वितरण गर्ने जिम्मा मस्र्याङदी जनसेवा बहुउद्देश्यीय सहकारीले पाएको छ । सो सहकारीले यसअघि मल विक्री वितरण रोक्दै आए पनि बुधबार बसेको वडाका जनप्रनिधि र सहकारी संचालकहरु बीचको वैठकले घाटा बेहोरेर भएपनि मल विक्री वितरण गर्ने निर्णय गरेको सहकारी संस्थाका सचिव बुद्धिप्रसाद अर्यालले बताए । वडा नं १० मा १२ सय बोरा मल आवश्यक पर्नेमा अहिले २७ बोरा मल मात्र प्राप्त भएको उनले बताए । सो मल प्रतिव्यक्ति ५ केजीको दरले नगरपालिकाकै दररेटमा विक्री वितरण गर्ने निर्णय भएको उनले बताए ।

वडा नं २ मा भने सहकारीमा प्राप्त भएको सबै मल वितरण गरिसकेको बताइएको छ । श्रीकृष्ण बहुउद्देश्यीय कृषि फर्मका प्रोपाइटर कृष्णकुमार श्रेष्ठका अनुसार डिएपी १६ बोरा र युरिया ४ बोरा प्राप्त भएकोमा सबै वितरण गरिसकेको बताए । नगरपालिकाले तोकिएकै दरभाउमा विक्री गरिएको उनले बताए । वडामा आवश्यक थप मल पठाइदिन नगरपालिकालाई अनुरोध गरिएको बताउदै वडाभित्र वार्षिक रुपमा युरिया र डिएपी गरी ६ बोरा मल आवश्यक पर्ने उनले बताए ।

नगरपालिकाले वडा नं ४ मा सुनौलो विहानी उत्पादनमूलक कृषि सहकारी संस्थाले मलको विक्री वितरण गर्ने जिम्मेवारी पाएको छ । सहकारीका कोषाध्यक्ष चन्द्र बहादुर खड्काका अनुसार दररेट नमिलेको कारण मलको विक्री वितरण भएको छैन । अहिले मलको भाउ चुलिएको भए पनि नगरपालिकाले २०७५ सालकै दररेट राखेको बताउदै मल ल्याएर गोदाममा राखिएको तर घाटा घाएर बेच्न नसकिने उनले बताए ।

१२ सय बोरा मल आवश्यक पर्ने यहाँ अहिले २० बोरा युरिया र १२ बोरा डिएपी मल मात्र प्राप्त भएको छ । नगरपालिकाले मल ढुवानीमा अनुदान दिएमा सोहि दररेटमा विक्री वितरण गर्न सकिने उनको भनाइ छ ।

यस्तै, वडा नं ६ मा पनि मल वितरण भएको छैन् । अनिता एग्रो भेट कन्सर्नले मल वितरण गर्ने जिम्मा पाएको तर अहिले मल वितरण नभएको सहकारीका प्रोपाइटर रामशरण कोइरालाले बताए । नगरपालिकाले तोकिएको दररेट व्यवहारिक नभएकाले मल वितरण नगरिएको उनले बताए । अघिल्लो महिना यहाँबाट २८ बोरा मल वितरण गरिएको बताउदै वडाभित्र वार्षिक रुपमा ७ सय बोरा मल आवश्यक पर्ने उनले बताए ।

तारापुञ्ज बाख्रा पालन कृषि सहकारी संस्थाले जिम्मा पाएको वडा नं ८ मा पनि मल वितरण भएको छैन । यो आर्थिक वर्षमा २४ बोरा युरिया र २० बोरा डिएपी मल मात्र प्राप्त भएको सहकारीका अध्यक्ष गोबद्र्धन कट्टेलले बताए । उनका अनुसार गत आर्थिक वर्षमा सहकारीबाट एकसय डिएपी र एक सय ८६ युरिया मल वितरण गरेको थियो । वडा भित्र वार्षिक रुपमा नौ सय बोरा आवश्यक पर्ने उनको अनुमान छ ।

वडा नं ९ मा मल विक्री वितरणको जिम्मा पाएको गोरखाली बचत तथा ऋण सहकारी संस्थाले भने नगरपालिकाकै दररेट अनुसार मल वितरण गरिरहेको छ । ९ सय बोरा मल आवश्यक पर्ने यस सहकारीमा यो वर्ष प्राप्त भएको ४ बोरा युरिया र २० बोरा डिएपी मल सबै सकिएको व्यवस्थापक अमृत शाहीले बताए । हरेक व्यक्तिलाई दुई देखि ५ केजी सम्म मल वितरण गरेको उनले बताए ।

दरौदी कृषि सहकारी संस्थाले वडा नं १२ मल मल विक्री वितरण गर्ने जिम्मा पाएको छ । तर नगरपालिकाले तोकेको दररेटमा मल विक्री वितरण गर्न नसकिने सहकारीका सचिव पुन्यकुमारी कुमालले बताइन् । उनका अनुसार सहकारीलाई २३ बोरा डिएपी र ४ बोरा युरिया मल मात्र प्राप्त भएको छ । सहकारी घाटा खाएर बेच्न नसकिने बताउदै मलको हाहाकारलाई हटाउन नगरपालिकाले नै केहि व्यवस्था गर्नुपर्ने उनले बताइन् ।

वडा नं १३ मा भने यसअघि ल्याएको सबै मल वितरण भइसकेको छ । सहकारीका अध्यक्ष रामेश्वर खनालका अनुसार नगरपालिकाको दररेट अनुसार मल विक्री गर्न नसकिने उनको भनाइ छ । सो वडामा करिब ४ सय बोरा मल आवश्यक पर्ने उनको भनाइ छ ।

वडा नं १४ मा कन्यादेवी बचत तथा ऋण सहकारी संस्थाले मल वितरणको जिम्मा पाएको छ । तर सहकारीले अहिले सम्म मल वितरण नगरेको जनाएकोछ ।

नगरपालिकाले ‘मल व्यवस्थान निर्देशिका २०७७’ र चालु आवको जिल्ला दररेट अनुसार नगरपालिका मल व्यवस्थापन समितिको बैठकले चालु आर्थिक बर्ष २०८०÷८१ का लागि नयाँ दररेट कायम गरेको कृषि शाखा प्रमुख नवीन अधिकारीले बताए । उनका अनुसार नगरपालिकाभित्र रहेका १३ वटा सहकारी संस्थाले अनुदानको मल विक्री वितरण गर्ने इजाजत पाएको थियो । मल कम आएको र थोरै मल लिन जादा मलको लागत बढी भएको हुन सक्ने उनले बताए । जिम्मेवारी पाएका संहकारीले ९० दिन भित्रमा मल विक्री वितरण नगरेको खण्डमा सो संस्था नविकरण नहुने उनले बताए । हाल नगरपालिकामा साल्ट टेड्रिङ करपोरेशन शाखा कार्यालय नारायणगढबाट गरी १५ मेट्रिक टन डिएपी, तीन मेट्रिक टन युरिया र कृषि सामगी कम्पनी विरगंजबाट १३ मेट्रिक टन युरिया मल प्राप्त भएको भइसकेको छ ।

त्यस्तै, बुधबार केही थप मल प्राप्त भएको उनले जानकारी दिए । ४७ मेट्रिकटन युरिया र २० मेट्रिक टन डिएपी मल प्राप्त भएको उनले बताए ।

नगरपालिकाले चालु आ.व.का लागि चारसय मेट्रिक टन यूरिया, ३ सय मेट्रिक टन डिएपी, र एक सय मेट्रिक टन पोटास माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्