| बुधबार, कार्तिक २५, २०८३

सामाजिक सुरक्षाभत्ताको ६१ लाख हिनामिना गरेको अभियोग लागेका अजीरकोटका कर्मचारीहरुले पाए सफाइ

सामाजिक सुरक्षाभत्ताको ६१ लाख रुपैयाँ हिनामिना गरेको अभियोग लागेका अजीरकोटका कर्मचारीहरुले सफाइ पाएका छन् ।
विशेष अदालत काठमाडौँले सामाजिक सुरक्षा कोषको ६१ लाख हिनामिनाको अभियोग लागेका गोरखाका एक वडा सचिवसहित चारजनालाई बुधबार सफाइ दिएको हो ।

गोरखाको साविक हंशपुर र मुच्चोक गाविस हाल अजिरकोट गाउँपालिकाको वडा नं ३ र ५ मा कार्यरत तत्कालीन गाविस सचिव एवं वडासचिव दीपक बहादुर दर्जीसहित चारजना विरुद्ध लागेको रकम हिनामिनाको अभियोगमा विशेष अदालतले बुधबार सफाइ दिएको जनाएको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल एवं न्यायाधीशहरु शालिग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले अख्तियारले लगाएको अभियोग दाबी नपुग्ने ठहर गरेको हो ।

रकम हिनामिना गरेको उजुरी परेपछि अख्तियारले छानबिन गरेर दर्जीसहित हंशपुर गाविसका तत्कालीन हेल्थ असिस्टेन्ड सुरेश दवाडी, तत्कालीन कार्यालय सहयोगी बिशाल विक र साविक मुच्चोक गाविसका अहेब चन्द्रकान्त सुवेदीविरुद्ध २०७८ फागुन ३० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनीहरुले आर्थिक वर्ष २०७३÷७४ मा आर्थिक कारोबारको हिसाबकिताब नबुझाई जिल्ला विकास समितिको कार्यालयबाट निकासा भएको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ताबापतको ६० लाख ९७ हजार ६ सय रकम हिनामिना गरेको दाबी अख्तियारले गरेको थियो । उनीहरुले सरकारी पैसा संयुक्त खाता खोली हिनामिना गरेको आयोगले अभियोग पत्रमा उल्लेख गरेको थियो । तर सबै दाबीमा दसी प्रभाव नपुगेकाले अभियोग ठहर नभएको विशेष अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्