| बुधबार, कार्तिक २५, २०८३

खानीगाउँमा जताततै धाँजा, सुरक्षित स्थलमा सारिदिन स्थानीयको माग

शिव उप्रेती :

८६ कटेकी धार्चे ७ खानीगाउँकी आशमाया सुनारलाई अचेल सम्साँझै खाना खान हतार हुन्छ । साँझ नछिप्पिँदै खोलेफाँडो खाईवरी प्लास्टिक ओढेर ‘पाल’तिर उकालो लाग्छिन् । ‘पाल भनेको मात्रै हो, निद्रै लाग्दैन । आँखै चिम्म नगरी छर्लङ्गै उज्यालो हुन्छ’, उनी भन्छिन्, ‘रुनी कति रुनी, हाँस्नी कसरी हाँस्नी । म एक्लो छु । पहिले ऊ त्यो खोलाको छेउमा थियो घर । भुइँचलोले भत्काइदियो । यहाँ आएर बल्लतल्ल बनाएको घर बस्नै नपाई फेरि यस्तो हालत भयो ।’ उनी एकल महिला हुन् ।
गत साउन २८ गते राती छ बर्षको बच्चाले गाउँ भत्किएको पहिलो पल्ट थाहा पाएको हो ।

‘अघिल्लो दिन दिनैभरि मेलामा काम गरेर आएको, खाना खाएर पल्टिने वित्तिकै हामी भुसुक्क निदाएछौँ । रातभरि पानी परेछ । बिहान चारबजेतिर यो बच्चा पिसाब फेर्न जान्छु भनेर उठ्यो । ओछेनबाट उठेर भुइँमा झर्ने बित्तिकै खाल्डोमा परेछ’, घटना सम्झँदै सुनिता विक भन्छिन्, ‘आमा, आमा किन यस्तरी भुईँ खनेको भनेर पो सोध्छ । के भन्छ यो भनेर उठेर हेरेको त घरभित्र खुट्टै गड्ने चिरैचिरा भइसकेको रहेछ । अनि मैले छिटो उठ्नू, छिटो उठ्नू भनेर घरको सप्पैलाई उठाएँ । हामी उठेर छिमेकी सबैलाई उठायौँ । छिमेकीले गाउँले सबैलाई उठाए । सबैको घर चिरैचिरा भइसकेको रहेछ । अनि यहाँबाट पानीभित्रभित्र भागेको ।’ त्यस दिनदेखि घरमा बास नरहेको उनको भनाइ छ ।

बर्खा महिना यहाँ हरसाँझ झमझम पानी पर्छ । गाउँलेहरु चिरा परेको घरभित्र खाना खाइवरी अल्लि पर बनाइएको त्रिपालको टहरोभित्र सुत्न जाने गर्छन् । त्रिपालभित्र बस्दा पनि उनीहरुलाई डर भने लागिरहन्छ । ‘राती एकदम डर लाग्छ । यस्तो बच्चाहरु छन् । अहिले पो लान्छ कि, अहिले पो लान्छ कि सोच्दासोच्दै निदै जान्न, रातभरि चकटी बुन्दै बस्ने हो’, अर्का स्थानीय चञ्चला बिक भन्छन्, ‘भर्खरै बनाएको घर, बनाएर सक्किएको पनि छैन । बस्दै गर्ने, बनाउँदै गर्ने भनेर बस्न थालेको तीन महिना पनि भएको छैन, पहिरोले बिगा¥यो ।’ पालमा बस्न जान बालबच्चा नमान्ने उनको भनाइ छ ।

त्रिपालभित्र ओछ्याउने गतिलो छैन । ‘होचो त्रिपाल, चिसो भुइँ । फलेक ओछ्याएर सुत्नुपर्छ’, फूलमान बिक भन्छन्, ‘दिनदिनै पानी पर्छ । केटाकेटीहरु पानीभित्रभित्र पालमा जान मान्दैनन् । घिच्याउँदै लैजानु पर्छ । कताको पढ्ने, कताको लेख्ने ।’ छ, सातजनाको परिबार एउटै पालभित्र सुत्नुपर्दा बालबच्चा र बुढाबुढीलाई समस्या भएको उनको गुनासो छ ।

‘तल गण्डकी छ, माथि चुङगङको पहिरो छ, छेउमा गाउँलाई तानिरहेको खोल्सा छ । घरभित्र, बाहिर, बारीमा पनि कतै खुट्टा गड्ने, कतै मान्छे सिँगै अट्ने चिरैचिरा छ । रातदिन डरैडरमा बस्नु परेको छ’, काइँली सुनार भन्छिन्, ‘डराइ डराइ बस्नुभन्दा बरु लाने जति एक्कैचोटी घ¥याकघुरुक लगेको भए हुन्थ्यो ।’ गाउँपालिकाले आफूलाई त्रिपाल पनि नदिएको उनको गुनासो छ ।

जीवनभरि कमाएको पैसाले हालसालै बनाएको घर चिरा परेपछि एकल दिदी बहिनी ७३ बर्षकी मनमाया र ७० बर्षकी विष्णु गुरुङको दिन अचेल रोएरै बित्छ । उनीहरुलाई नेपाली भाषा पटक्कै बोल्न आउँदैन । रुँदैरुँदै भनेको उनीहरुको गुनासो नेपाली भाषामा उल्था गर्दै सचिन गुरुङ भन्छन्, ‘हुँदाखाँदाको घर भूकम्पले भत्कायो । बसोबास गरेको जमिन पनि यसरी नै चिरैचिरा पा¥यो । संगोलमै बसेकाले सरकारले दिने भूकम्पको राहत उनीहरुको नाममा परेन, भाइको नाममा मात्र प¥यो ।

अनुदानमा थपथाप गरी भाइ नयाँ घर बनाएर छुट्टिए । वृद्धभत्ता संगालेर राखेका थियौँ । दुख गरेर जोडेको पैसाले ओत लाग्ने सानो झुप्रो बनाएका थियौँ । पैसा तिर्न नसकेर घरमा विजुली बत्ती पनि जोडेका थिएनौँ । जसोतसो बसिरहेको यही घर पनि बस्नै नमिल्ने गरी चिरैचिरा प¥यो । अब हामी कहाँ बस्न जाने ?’ दिदी बहिनीहरु दुवै अविवाहित हुन् । बहिनी विष्णु अपांग पनि हुन् ।

भूकम्पपछि लगातार खानीगाउँलाई पहिरोले तानिरहेको छ । भूकम्पले चिराचिरा भएको चुङगङ(चुनडाँडा) हरेक बर्खामा पहिरिँदै जाने गरेको छ । गाउँको तल र माथि पहिरो छ । एकातर्फ गहिरो खहरे खोला छ । यही पहिरो र खोलाले गाउँको सतह हरेक बर्ष तलतल तानिरहेको स्थानीय जनप्रतिनिधि पन्दुर गुरुङको भनाइ छ । ‘भूकम्प गएको आठ बर्षयता १९ घर पहिरोले पूरै लगिसकेको छ । उनीहरु बिस्थापित भएर स्कूल टोलमा बस्छन् ।

उनीहरु बसेको जग्गा पनि अर्काको हो । न किनबेच भएको छ, न लालपूर्जा बनेको छ’, वडा सदस्य गुरुङ भन्छन्, ‘भाडा तिरेको जग्गामा पनि पक्की घर बनाएर बसेका छन् । जग्गाको भाडा तिरेका छन् । अब अहिले यही घर पनि चिराचिरा भयो । त्यहाँबाट यहाँ आइयो । यहाँ पनि त्यस्तै भएपछि अब कहाँ गएर बस्ने ? समस्या यहाँनेर छ ।’ अहिलेको बर्खाले यहाँका ८२ घरमध्य २६ घर बिस्थापित भएका छन् ।

गाउँपालिकासंग पर्याप्त त्रिपाल नहुँदा १२ घरपरिबारलाई मात्र त्रिपाल दिएको उनको भनाइ छ । बाँकी १४ परिबारमध्य कोही स्कूल टोलको आफन्तको घरमा, कोही छरछिमेकीको घरमा शरण लिइरहेका छन् ।

चिरिएकै घरमा बस्छिन् सानी गुरुङ

घर, आँगन, करेसाबारी सबै चिराचिरा परेपछि गाउँ नै बिस्थापित भए पनि ८५ बर्षकी सार्नी गुरुङ घर छोड्न मान्दिनन् । परिबारका अन्य पाँच जना घरबाट पर त्रिपालमा सरेर बस्छन्, तर उनी एक्लै पहिरोले चिराचिरा परेको घरमा बस्दै आएकी छिन् ।

‘डर त लाग्छ तर मर्ने बेला भएको बूढी कहाँ बस्न जाने ?’, नेपाली भाषा नबुझ्न् उनी स्थानीय गुरुङ भाषामा भन्छिन्, ‘भूकम्पले त्यहाँबाट धपाएर यहाँ ल्याइपु¥यायो । अहिले फेरि यहाँबाट पनि धपाएर कहाँ पु¥याउन खोजेको हो ? अरु जहाँसुकै जाउन्, म त जान्न । यहीँ कुखुरा, बाख्रासित बस्छु ।’ डर लागेर ननिदाइकन रात कटाउने गरेको उनको भनाइ छ ।

त्रिपाल पनि पाइएन

रातभरि गाउँका घरघरमा पहिरोले चिराचिरा पारेको तर आफूले बिहान पाँच बजेमात्र थाहा पाएको वडा सदस्य पान्दुर गुरुङको भनाइ छ । ‘मेरो घरचाहिँ गाउँबाट अल्लि तल छ । त्यहाँचाहिँ पहिरोको समस्या छैन’, उनी भन्छन्, ‘राती गाउँका सबै घरमा धाजा फाटेछ । भागाभाग भएछ । मैले बिहान पाँच बजे मात्र थाहा पाएँ । मैले थाहा पाएपछि वडाअध्यक्ष राकेश गुरुङलाई फोन गरेँ । अध्यक्षले गाउँपालिका अध्यक्षलाई फोन गर्नुभएछ । त्यस दिन त्यसै भयो । भोलिपल्ट गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ १२ वटा त्रिपाल लिएर आउनु भयो ।’

घर त सबैको चिरिएको, तर गाउँपालिकामा त्यति नै त्रिपाल भएकाले त्यति मात्र बाँड्न पाएको उनको भनाइ छ । ‘त्रिपाल नभै भएको छैन । अब अध्यक्षज्यूले व्यवस्था हुन्छ भन्नु भएको छ । के हुन्छ होला’, उनले भने ।

त्रिपाल नपाउँदा समस्या भएको अर्की स्थानीय सरिता गुरुङको भनाइ छ । ‘हामी गैराटोल र काफलटोल सबैको घर बस्न हुनी छैन’, उनी भन्छिन्, ‘कसैकसैले मात्र त्रिपाल पाए, हामीले पाएनौँ । अरुको घरमा कति दिन पाहुना भएर बस्न जाने ?’
त्रिपालका लागि रेडक्रस र गण्डकी प्रदेश सरकारसंग समन्वय भइरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको भनाइ छ ।
स्थानीय सुशील गुरुङका अनुसार भूकम्प लगत्तै भूगर्भ विभागबाट खटिएका हरेराम पराजुलीसहितका विज्ञ टोलीले खानीगाउँको सबै ठाउँ पहिरोको उच्चजोखिममा रहेका छ भनेको थियो । त्यसैले यथासीघ्र सुरक्षित ठाउँ खोजेर पुनस्र्थापना गर्नुपर्ने सिफारिस गरेको थियो ।

तीनबर्षअघि धार्चे गाउँ कार्यपालिका बैठकले यहाँका करिब ४५ घरपरिबारलाई गोरखा सदरमुकाम बजार आसपासको सिमलगैरी क्षेत्रमा पुनस्थापित गर्ने निर्णय गरेको थियो । तर घर मात्र भएर नहुने, गरिखाने जग्गा जमिन नभएपछि परिबार पाल्न समस्या हुने कारण देखाउँदै गाउँलेहरु सर्न मानेनन् । ‘तर यसपालि त्यस्तो अबस्था छैन’, वडा सदस्य गुरुङ भन्छन्, ‘अहिले वरिपरि बस्न सुरक्षित जग्गा नै नदेखिएकाले जहाँ लगेर पुनस्थापित गराए पनि जान्छौँ भनेका छन् ।’ त्यसका लागि सरकारले निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्