
क्वार्ज क्रिष्टल गोरखा दरवारमा कहिले राखिन्छ ?
गोरखा नगरपालिका–७ सतिपिपलस्थित राममाया शाहीको घरबाट प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल गोरखा दरवारमा राख्ने मन्त्रीपरिषदबाट निर्णय भइसकेको छ । गत साउन ३० गते निर्णय भएपनि गोरखा दरवारमा त्यो ढुंगा कहिले लाने भन्ने यकिन छैन ।
निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया पु¥याउनुपर्ने भएकाले थप केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । ‘गोरखामा राख्ने भन्ने निर्णय भएको छ तर कुन प्रक्रियाले कसरी राख्ने भन्ने कुराको क्याविनेटबाट निर्णय भएर आएपछि मात्र कार्यान्वयन हुन्छ,’ उनले भने ।
उनका अनुसार खानी तथा भूगर्भ बिभागले मन्त्रीपरिषदको निर्णयको टिप्पणी उठाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाउँछ । मन्त्रालयले बिभिन्न निकायसँग आवश्यक राय र सल्लाह सुझाव लिएर उक्त ढुंगालाई कुन प्रक्रियाले कसरी राख्ने भन्ने यकिन गरी क्याविनेटमा पेश गर्छ ।
मन्त्री परिषदले निर्णय गरेपछि मुख्यसचिवले प्रमाणीकरण गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा पत्र पठाउँछ । सोही पत्रको आधारमा मन्त्रालयले आवश्यक समन्वय र सहजिकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएपछि मात्र बाँकी प्रक्रिया अघि बढ्ने प्रजिअ भुसालले बताए ।
गोरखा दरवारमा राख्ने भन्ने निर्णय भएकाले दरवारलाई पनि पत्राचार हुने उनले जानकारी दिए । प्रहरीले बरामद गरेको उक्त ढुंगा हाल जिल्ला प्रहरी कार्यालय परिसरमा बिशेष सुरक्षा सहित राखिएको छ ।
खानी बिभागले उक्त ढुंगा बिभागमै पठाउन भनेपनि जिल्लाका सरोकारवालाहरुले उक्त ढुंगा जिल्लामै राख्नुपर्ने माग गर्दै आएका थिए । नगरपालिकाको नेतृत्वमा जिल्लामा क्रियाशील राजनीतिक दल, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु काठमाण्डौ पुगेर प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर उक्त ढुंगा गोरखामै राखिदिन माग गर्दै ज्ञापन पत्र समेत बुझाएका थिए ।




