
गोरखामा २४ सय बढी परिचयपत्रमा ६१ वटा मात्र वितरण
जिल्लामा हालसम्म ६१ वटा मात्र राष्ट्रिय परिचयपत्र वितरण भएको छ । कुल २ हजार ४५३ जनाको परिचयपत्र आएपनि हालसम्म ६१ वटा मात्र वितरण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितीमा यही साउन ३ गतेबाट कार्यालयले परिचयपत्र वितरण शुरु गरेको हो । तर परिचयपत्र लिन आउन सेवाग्राहीमा उत्साह नदेखिएको राष्ट्रिय परिचयपत्र शाखाका कम्प्यूटर अपरेटर दिनेस श्रेष्ठले बताए । ‘एक हजारभन्दा बढीलाई एसएमएस मार्फत परिचयपत्र लिन आउन भनिसकेका छौ,’ उनले भने, ‘तर उहाहरुले खासै चासो दिनुभएको देखिएन ।’ शुक्रवारपनि पाँच जना मात्र परिचय पत्र लिन आएको उनले जानकारी दिए ।
कतिपयले एसएमएस आएको थाहा नपाउँदा पनि समस्या हुने गरेको उनको भनाइ छ । केहीले भने एसएमएस आएपनि परिचय पत्र लिन उत्सुकता नदेखाएको उनले बताए । व्यस्तताका कारण पनि परिचय पत्र लिन आउनेको संख्या कम भएको हुन सक्ने कार्यालयको अनुमान छ ।
कार्यालयले दैनिक दुई सय ५० जनालाई परिचय पत्र लिन भन्दै एसएमएस गर्ने गरेको जनाएको छ । सर्भरका कारण सबैलाई एकैसाथ एसएमएस पठाउन समस्या भएको श्रेष्ठले जानकारी दिए ।
‘एकै पटक दुई सय जनालाई एसएमएस पठाउन पनि सर्भरका कारण एक हप्ता लाग्छ, परिचय पत्र लिन आउनेको संख्या कम देखिएको छ, अव एसएमएसको संख्या बढाउछौ,’ उनले भने ।
अवको एक साताभित्र सबैलाई एमएमएस प्राप्त हुने उनले बताए । परिचय पत्रमा केही त्रुटी भएमा पुनः फोटो खिचेर अर्काे कार्डको लागी प्रक्रिया अघि बढाउनुपर्ने बताइएको छ । त्यसका लागी थप पाँच सय रुपैया अतिरिक्त शुल्क लाग्ने बताइएको छ ।




