
चुमनुब्रीको झोङमा पहिरोका कारण गाउँ जोखिममा
लगातार वर्षाका कारण गएको पहिरोले चुमनुब्री गाउँपालिका–७ छेकम्पार नजिकै रहेको झोङ गाउँ जोखिममा परेको छ । विहीबार राती गएको पहिरोका कारण करिब १० भन्दा बढी घरधुरी जोखिममा परेको स्थानीय पेमा वग्र्याल लामाले बताए । उनका अनुसार लेदो सहितको भल घरमा पस्दा खाद्यान्न तथा लत्ताकपडाहरु समेत नष्ट भएको छ । नजिकैको खेतबारी, चरन क्षेत्र र फापर र तोरी खेतीमा समेत क्षति पुगेको बताइएको छ ।
बिहीबार राती लगातार बर्षा भएका कारण गाउँ माथिबाट पहिरो खस्दा गाउँ जोखिममा परेको गाउँपालिका अध्यक्ष निमा लामाले बताए । पहिरो रोकथामका लागि ग्याबिङ तार हाल्ने तयारी गरिएको उनले जानकारी दिए ।
पहिरो प्रभावित क्षेत्रमा वडा अध्यक्ष टासी दोर्जे लामा र सिमा प्रहरी चौकीबाट निरिक्षण गरी मुचुल्का उठाइ समाधानका लागि पहल गर्न सम्बनिधत निकायमा पठाउने पालिकाले जनाएको छ ।
त्यस्तै चुमनुब्री गाउँपालिका–६ को चुम्चेतस्थित थरोङ गाउँका लाक्पा लामाको घरमा लागलागी भएको छ । गाउँपालिका अध्यक्ष लामाका अनुसार विहीबार राती घरमा आगोलागी भएको हो । यो समाचार तयार पार्दासम्म आगलागीको क्षति विबरण आएको छैन । प्रहरी घटनास्थल गएको र पुगेपछि क्षति विवरण एकीन हुने उनले बताए ।




