| बुधबार, कार्तिक २५, २०८३

दशैंका बेला गोरखामा वृहत लोकदोहोरी महोत्सव हुने

गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा असोज २३ गतेबाट कार्तिक ३ गतेसम्म वृहत लोकदोहोरी महोत्सव हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल गोरखाले मंगलबार पत्रकार भेटघाटमा सो कुराको जानकारी गराएको हो ।

महोत्सव आयोजनाका लागि १३ वटा उपसमिति बनाएर तयारी थालिएको महोत्सव व्यवस्थापन समितिका संयोजक शिव केसीले बताए । मेला व्यवस्थापनका लागि पाँच जनाको सचिवालय बनाएको छ । मेलामा एकसय ५० वटा स्टल रहने छ । मेला संचालन गर्नका लागि ५१ लाख लाग्ने अनुमान गरिएको छ भने करिब एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको उनले बताए ।

प्रतिष्ठानको भवन निर्माणका ८ आना जग्गा खरिद गरिसकेको र त्यसमा कार्यालय भवन निर्माण गर्न मेला आयोजना गरिएको उनले बताए ।

त्यस्तै, हरमटारी खेलकुद मैदानमा यसअघि चेम्बर अफ कमर्स गोरखाले पनि मेला आयोजना गर्ने बताइको थियो । तर मेला व्यवस्थापन समितिका संयोजक केसीले भने चेम्बरसँग पटकपटक छलफल गरी सहमति भएसँगै मेला आयोजना गर्ने जिम्मा प्रतिष्ठानले पाएको उनले बताए ।

मेला अवधिभर विभिन्न लोक दोहोरी प्रतियोगिता संचालन गर्ने मेला व्यवस्थापन मुल आयोजक समितिका संयोजक हरिराम परियारले बताए । उनका अनुसार मेलामा राष्ट्रियस्तरको लोकदोहोरी प्रतियोगिता संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेले एकलाख ११ हजार १११ र दोस्रो हुनेले ५५ हजार ५५५ रुपैया नगद प्राप्त गर्ने बताइएको छ । सो प्रतियोगितामा देशभित्र र बाहिरका गरी लोकदोहोरी प्रतिष्ठानका ७७ वटा शाखाबाट सहभागी हुने जनाएको छ ।

त्यस्तै, गोरखामा रहेको ११ वटा स्थानीय तहको पालिकास्तरीय लोकदोहोरी प्रतियोगिता समेत आयोजना हुने उनले बताए । यसमा प्रथम र दोस्रो हुने टिमले नगद रु ५० हजार ५ सय ५५ र २५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने जनाएको छ ।
त्यस्तै, ११ वटा पालिकामा रहेको पुरानो ऐतिहासिक बस्तुहरु प्रतियोगिताको रुपमा प्रदर्शनमा राखिने बताइएको छ । प्रतियोगितामा प्रथम र दोस्रो हुनेले क्रमश १५ र १० हजार नगद प्राप्त गर्नेछ ।

मेलामा गोरखा तारा २०८० समेत आयोजना हुने भएको छ । यसअघि उद्योग वाणिज्य संघले संचालन गदै आएको गोरखा तारालाई यस वर्षबाट लोकदोहोरी प्रतिष्ठानले संचालन गर्न लागेको हो । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले क्रमश ५० हजार ५५५ र २५ हजार ५२५ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

मेला अवधिभर असहाय, जेष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने सर्वसाधारणलाई एकसय र विद्यार्थीलाई ५० रुपैयाको व्यवस्था गरिएको छ ।
मेलामा गोरखाकै कलाकारलाई मुख्य प्राथमिकता दिइने आयोजकले जनाएको छ । मेलामा इन्द्रेणी टिमको पनि विशेष प्रस्तुती रहने बताइएको छ ।

मेलामा मुख्य अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रणा गरिएको आयोजकले जनाएको छ । खाद्य बस्तुहरुका लागि कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पतालसँग समन्वय भइरहेको उनले बताए । गोरखा साँस्कृतिक समाज, लोकदोहोरी प्रतिष्ठान गण्डकी प्रदेश सहयोगी संस्थाका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्