
प्रहरी कार्यालयमा रहेको क्वार्ज क्रिष्टल परीक्षण गर्न खानी विभागको टोली गोरखामा
प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल परीक्षणका लागि जिल्ला बाहिर लाने चर्चा चलिरहेका बेला यसको परीक्षण जिल्लामै हुने भएको छ । धार्मिक सम्पदा तथा महंगो बस्तु परीक्षणका लागि जिल्ला बाहिर लाने चर्चा चलेसँगै विरोध सुरु भएपछि जिल्लामै विज्ञ टोली झिकाएर परीक्षण गर्न लागिएको हो ।
सोमवार परीक्षणका लागि खानी तथा भूगर्भ विभागको विज्ञ टोली गोरखा आइपुगेको सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले बताए । उनका अनुसार जियोलोजिष्ट डा. सुस्मिता भण्डारी र दुर्गा बोलाखे आवश्यक उपकरण र सामान सहित सोमवार जिल्ला आइपुगेका छन् । उनीहरुले आज मंगलवारबाट ढुंगाको परीक्षण सुरु गर्ने बताइएको छ ।
‘ढुंगा बरामद गरेलगतै परीक्षणका लागि विज्ञ टोली पठाइदिन भनेर हामीले विभागलाई आग्रह गर्दै पत्राचार गरेका थियौ,’ उनले भने, ‘तर विभागमै ल्याएर परीक्षण गर्नुपर्ने भनेपछि समस्या भएको थियो ।’
विभाग लैजान समस्या हुने भन्दै प्रशासनले पुनः पत्राचार गर्दै विज्ञ टोली पठाएर जिल्लामै परीक्षण गर्ने वातावरण बनाइदिन आग्रह गरेपछि विभागले विज्ञ टोली पठाएको हो । गृह मन्त्रालयको समन्वयमा विभागबाट विज्ञ टोली आएको सहायक प्रजिअ रानाले जानकारी दिए ।
गोरखा नगरपालिका–७ सतिपिपलस्थित राममाया शाहीको घरबाट प्रहरीले उक्त ढुंगा बरामद गरेको हो । ५४ किलोको उक्त ढुंगा बिशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा रहदै आएको थियो । उक्त ढुंगा बहुमूल्य रहेको बताउँदै आएपनि परीक्षण नगरी एकीन नहुने जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए ।
‘हामीले केही भूगर्भविदलाई भिडियो गरेर देखाउँदा यो क्वार्ज क्रिष्टल ढुंगा हो तर कुन गुणस्तरको भन्ने परीक्षण गरेपछि मात्र थाहा हुने भन्नुभएको थियो,’ उनले भने । विविध कारणले परीक्षणका लागि जिल्ला बाहिर लान सम्भव नभएपछि विभागको टोलीलाई नै जिल्ला बोलाइएको उनले जानकारी दिए ।




