
भगवती पाण्डेलाई कारवाहीको माग गर्दै गोरखामा प्रदर्शन
विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ लाई कारवाहीको माग गर्दै जिल्लाका मगर र तामाङ समुदायले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । सोमवार नेपाल मगर संघ जिल्ला समन्वय समिति र नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति गोरखाले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
तामाङ र मगर समुदायलाई अपराधीकरण गर्नेगरी विवादास्पद अभिव्यक्ति दिएको भन्दै अधिवक्ता पाण्डेलाई हदैसम्मको कारवाही गर्न उनीहरुले माग गरेका छन् ।

शान्तिपूर्ण आन्दोलनको क्रममा अभियन्ताहरुलाई नियन्त्रणमा लिएर अनावश्यक बल प्रयोग गरी चरम यातना दिने जिल्ला प्रहरी परिसर टेकु, काठमाडौमा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीसहित संलग्न सबै प्रहरीलाई कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।
साउन १७ गतेको आन्दोलनमा प्रहरीको कुटपिटबाट घाइते भएकाहरुलाई उपचार खर्चसहित उचित क्षतिपूर्ति दिनुपर्ने समेत उनीहरुले माग राखेका छन् ।
ज्ञापन पत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले उक्त घटनाको प्रहरीद्धारा आवश्यक छानविन भइरहेकाले विरोधका कार्यक्रमहरु शान्तिपुर्ण तवरले गरिदिन आग्रह गरे । पाण्डेलाई कारवाहीको माग गर्दैउनीहरुले सोमवार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडीकरिव एक घण्टा धर्ना समेत दिएका थिए ।
कार्यक्रममा जिल्लास्थित आदिवासी जनजातीका बिभिन्न संघसंस्थाहरुले एक्यवद्धता जनाएका थिए । पाण्डेले प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाएका हुन् ।




