
पालुङटार पोलिटेक्निकको प्रशासन र लेखा शाखामा १० दिनदेखि ताला
पालुङ्टार पोलिटेक्निक कलेजको प्रशासन र लेखा शाखामा १० दिनअघि लागेको ताला अझै खुलेको छैन । त्यहाँका शिक्षक आशिष रानाभाट र राजकुमार बोगटीको करार सम्झौता नवीकरण नगरेको विरोधमा शिक्षक रानाभाटले लगाएको ताला अहिलेसम्म खुल्न नसकेको हो ।
‘उहाँले आफूलाई पुनर्बहाली गर्नुपर्ने माग राखेर ताला लगाउनु भएको हो । अहिलेसम्म पुनर्वहाली गर्ने कि नगर्ने भन्ने ऐकिन हुन सकेको छैन’, प्रिन्सिपल प्रदीप बसौलाले भने, ‘यसै विषयमा सिटिइभिटिईको केन्द्रीय कार्यालयमा निरन्तर छलफल भइरहेको छ । हेरौँ छिट्टै केही निर्णय होला । बहाल गर्न उचित नभए पनि कसैको रोजीरोटी समाप्त गरिहाल्नु राम्रो होइन भन्ने कुरा पनि आएको छ ।’ अर्का शिक्षक राजकुमार बोगटीले भने स्वेच्छाले छाडेर गएको प्रिन्सिपल बसौलाले बताए ।
शिक्षक आशिष रानाभाटले गत असारको नौ गते कलेजको प्रशासन, लेखा र परीक्षा कार्यालयमा तालाबन्दी गरेका थिए ।अरु सबैको करार सम्झौता नवीकरण हुँदा आफ्नो मात्र नभएको भन्दै तालाबन्दी गरेको उनले बताएका छन् । साथै प्रिन्सिपलले पूर्वाग्रहपूर्वक गरेको निर्णय नसच्याएसम्म ताला नखोल्ने उनको अडान छ ।
तीनवटा शाखामा ताला लागे पनि पठनपाठन भने सुचारु रहेको प्रिन्सिपल बसौलाले बताएका छन् ।




