| बुधबार, कार्तिक २५, २०८३

कृषि ज्ञान केन्द्रको चालु आवको बजेट ८ करोड ४९ लाख, भेटेरिनरीको ४ करोड २९ लाख

कृषि ज्ञान केन्द्र गोरखालाई चालु आर्थिक वर्ष गण्डकी प्रदेश सरकारबाट ८ करोड ४९ लाख ३६ हजार बजेट प्राप्त भएको छ । कार्यालय प्रमुख परशुराम अधिकारीले मंगलवार एक कार्यक्रमका बीच चालु आवको बजेट तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । उनका अनुसार खाद्यान्न बाली प्रबद्र्धन आयोजनाका लागि ३८ लाख, आलु तथा तरकारी बाली प्रबद्र्धनका लागि ५२ लाख ५० हजार, बेमौसमी तरकारी खेती प्रबद्र्धन आयोजनाका लागि ४२ लाख, फलपूmल बाली विकास आयोजनाका लागि ७९ लाख ९ हजार र प्रविधि प्रवद्र्धन तथा सेवा सम्बन्धि कार्यक्रमहरुका लागि २७ लाख ५५ हजार बजेट प्राप्त भएको छ ।

त्यस्त, बिउ उत्पादन प्रवद्र्धन आयोजनाका लागि ३० लाख, रैथाने बाली प्रबद्र्धनका लागि १० लाख, कृषि व्यवसाय प्रबद्र्धन अन्तरगत अनुदानमुलक कार्यक्रमहरुका लागि ४३ लाख ५ हजार, समुदाय स्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवद्र्धन आयोजनाका लागि ३ करोड ५० लाख र पोषण सुधार कार्यक्रमका लागि २५ लाख बजेट प्राप्त भएको उनले जानकारी दिए ।

कार्यक्रममा गत आवको बार्षिक प्रगति समिक्षा सार्वजनिक गर्दै उनले कार्यालयले ६९ प्रतिशत प्रगति हालिस गरेको बताए । कुल ७ करोड ३८ लाख ४५ हजार बजेट प्राप्त भएकोमा ४ करोड ८२ लाख ९१ हजार मात्र खर्च भएको उनको भनाइ छ । कार्यक्रम तर्फको प्रगति ६८.८३ र वित्तिय तर्फ ६५.३९ प्रतिशत प्रगति रहेको उनले जानकारी दिए ।

गत वर्ष बाली बिमा शुल्कमा अनुदान, रैथाने बाली संरक्षण कार्यक्रम र फलफुलवालीमा स्रोत केन्द्र स्थापना कार्यक्रम संचालन गर्न नसकिएको कार्यालयले जनाएको छ । बाली विमा शुल्कमा अनुदान कार्यक्रम अन्तरगत कृषकको निवेदन नपरेको, रैथाने बाली संरक्षण कार्यक्रम अन्तरगत यसअघि नै अनुदान लिइरहेको व्यक्तिको मात्र निवदेन परेको र फलफुलबाली स्रोत केन्द्र स्थापना कार्यक्रम अन्तरगत सम्झौता भएपनि सम्झौता अनुसार काम नभएकाले कार्यक्रम संचालन नभएको कार्यालय प्रमुख अधिकारीले बताए । मकै विउ उत्पादन तथा मकै बाली प्रवद्र्धन आयोजना कार्यक्रमका लागि भने आवेदन कम आएको उनले जानकारी दिए ।

यता भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाको चालु आवको बजेट ४ करोड २९ लाख रहेको छ । पुँजिगत कार्यक्रम अन्तरगत १० लाख ५० हजार, चालु प्रशासन खर्चतर्फ एक करोड ४ लाख ७२ हजार र कार्यक्रम खर्चतर्फ ३ करोड १४ लाख ५८ हजार रहेको कार्यालयले जनाएको छ ।

चालु वर्ष पशु आहार प्रबद्र्धन कार्यक्रम अन्तरगत बाँझो जमिनमा घाँस खेतीका लागि १८ लाख, जौ घाँसको विउ उत्पादनका लागि ५ लाख बजेट विनियोजन भएको कार्यालयका निमित्त प्रमुख सर्मिला कुमालले बताइन् ।

पशुपन्छी तथा मासु व्यवसाय प्रबद्र्धन कार्यक्रम अन्तरगत माछा भुरा खरिद ढुवानीका लागि २ लाख ५० हजार, उत्पादनमा आधारित प्रोत्साहन सहयोग दुधमा ६ लाख, कृत्रिम गर्भाधारणबाट जन्मेको उन्नत नश्ल पाडीबाच्छी हुर्काउन प्रोत्साहन कार्यक्रमका लागि ८५ लाख, कृषि ऋणमा व्याज अनुदान कार्यक्रमका लागि ४ लाख, महामारी रोगका कारण क्षति व्यहोरेका बंगुर फर्मको व्यवसायिकता विकास सहयोग कार्यक्रमका लागि १६ लाख बजेट विनियोजन भएको उनले जानकारी दिइन् ।सामुदायिक तथा घरपालुवा कुकुरमा बन्ध्याकरण कार्यक्रमका लागि १० लाख र पशु स्वास्थ्य कार्यक्रम, क्षमता अभिवृद्धि लगायतका कार्यक्रमहरुमा बजेट विनियोजन भएर आएको कार्यालयले जनाएको छ ।

कार्यक्रममा गत आवको बार्षिक प्रगति समिक्षा सार्वजनिक गर्दै कार्यालय निमित्त प्रमुख कमालले चालु आव ९४ प्र्रतिशत प्रगति हासिल गरेको बताइन् । कुल कार्यक्रमहरुमध्ये ९४.३७ प्रतिशत र वित्तिय तर्फ ७९.६ प्रतिशत प्रगति हासिल भएको उनले जानकारी दिइन् । उनका अनुसार प्रदेश सरकार अन्तरगत संचालन भएका कार्यक्रमहरुमा भने ९७.५ प्रतिशत प्रगति हासिल भएको छ ।

गत वर्ष चालु तर्फ ४ करोड ४७ लाख मा ३ करोड ५० लाख र पुँजिगत तर्फ १६ लाखमा १५ लाख ९२ हजार खर्च भएको कार्यालयले जनाएको छ । गत वर्ष पशुमा पुर्णखोप कार्यक्रम, साना व्यवसायिक फर्म स्थापना तथा विस्तार, पाडी बाच्छी हुर्काउन प्रोत्साहन सहयोग कार्यक्रम, डेरी तथा मासु पसल सुधार कार्यक्रम, नया पोखरी निर्माण, फार्म यान्त्रीकरण कार्यक्रम, पशुस्वास्थ्य तथा बाँझोपन शिविर कार्यक्रम र स्थानीय तहसँगको सहकार्यमा रेविज रोग नियन्त्रणका लागि सामुदायिक तथा छाडा कुकुरहरुलाई बन्ध्याकरण तथा खोप कार्यक्रम लगायतका कार्यक्रमहरु संचालन गरिएको थियो । कार्यालयबाट संचालन भएको विभिन्न कार्यक्रमहरुबाट २६ हजार ९ सय ९४ जना लाभान्वित भएको बताइएको छ ।

गत वर्ष दुई वटा कार्यक्रम भने संचालन गर्न नसकिएको कार्यालयले जनाएको छ । पशुपन्छी स्रोत केन्द्र स्थापनाका लागि मन्त्रालयबाट मापदण्ड नआएको कारण संचालन हुन नसकेको बताइएको छ । दुध उत्पादन प्रोत्साहन कार्यक्रमका लागि मापदण्ड अनुसार रिपोर्ट प्राप्त नभएका कारण संचालन हुन नसकेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्