| बुधबार, कार्तिक २५, २०८३

साना सहरीको व्यवस्थापन अस्तव्यस्त : बन्द गरिसकेको धाराको नाममा पनि बक्यौता !

केशव गुरुङ :

पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अस्तव्यस्त व्यवस्थापनका कारण बर्षौँ अघि धारा काटिसकेकाको नाममा पनि महशुल बक्यौता देखिएको छ । निवेदन दिएर विधिवत रुपमा धारा बन्द गरिसके पनि लाखौँ बक्यौता देखिएको उनीहरुको गुनासो छ ।

पानी उपभोग नगर्नेहरुको नाममा पनि बक्यौता रकम देखाएको भन्दै केही संस्था र व्यक्तिले आक्रोश व्यक्त गरेका छन् । कुन धारा सञ्चालनमा रहेको र कुन नरहेको भन्ने बारेसमितिको कार्यालय बेखबररहेका कारण आफूहरु मर्कामा परेको उनीहरुको गुनासो छ ।

२०७७ सालमै सबै रकम बुझाएर धाराको लाइन काटेको भएपनि संस्थाको नाममा हालसम्म बक्यौता रकम देखाएको भन्दै गोरखा उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ । ‘केही महिनाअघि मात्र पनि बक्यौता रकम तिर्न भन्दै हामीलाई पत्र आएको थियो,’ संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले भने, ‘२०७७ सालमा लाइन काटेकै बेला सबै रकम तिरिसकेका छौँ तर अहिले फेरि बक्यौता रकम भनेर देखाएको छ ।’ उपभोक्ता संस्थाका पदाधिकारीसँग छलफल गरेर बक्यौता नरहेको भन्ने निश्कर्षनिकालिसकेको भए पनि संघको नाममा बक्यौता रकम देखिनु आयोजनाको लापरवाही भएको श्रेष्ठले बताए ।

बिल नपठाइकन एक्कासी लाखौँ बक्यौता देखाउनु न्यायोचित नभएको संघका अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘२०७७ सालमै लाइन काटिएको हो । लगत कट्टा नगरिएको भए हामीलाई विल पठाउनुपथ्र्याे, त्यो पनि पठाएको छैन, संस्थाकै लापरवाहीले बक्यौता रकम देखिएको हो,’ श्रेष्ठले भने । उपभोग नगरेको पानीको महशुल तिर्न नसकिने उनको भनाइ छ । संस्थाको नाममा आयोजनाले दुई लाख ७ हजार बक्यौता रकम देखाएको छ ।

यता दश लाख बक्यौता रकम तिर्न बाँकी देखिएको जिल्ला समन्वय समिति (साविकको जिल्ला बिकास समिति) ले उक्त धाराको लाइन काटिएको धेरै समय भइसकेको जनाएको छ । २०६४÷०६५ सालदेखि नै बक्यौता देखिएको उक्त रकम बेलैमा उठाउन नसक्नु आयोजनाकै कमजोरी रहेको जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेलले बताए । तत्काल उक्त रकम तिर्न नसकिने उनले जानकारी दिए । त्यत्रो बक्यौता किन बाँकी राखेको पहिलै उठाउनुपथ्र्याे,’ उनले भने, ‘हामीले त्यति धेरै रकम तिर्न सक्दैनौ, जिविसको पालामा कडाइ गरेको भए हुन्थ्यो, त्यो बेला पैसा पनि थियो ।’ आवश्यक सहजिकरणका लागि मन्त्रालयसँग समन्वय गरिने उनले बताए ।

राज्य पुनसंरचना पश्चात जिल्ला समन्वय समिति भएपछि जडान गरिएको लाइनको निरन्तर महशुल तिरिरहेको उनले जानकारी दिए ।

धेरै पहिले विधिवत रुपमा धारा बन्द गरेको भए पनि महशुल रकम तिर्न बाँकी रहेको भनेर संस्थाले आफ्नो नाममा बक्यौता रकम देखाएको भन्दै अन्य व्यक्तिहरुले दुख व्यक्त गरेका छन् । ‘हामीले साना सहरी खानेपानी उपभोक्ता संस्थाको धारा जडानै गरेको छैन, तर मेरो दिवंगत भइसक्नु भएको बुबाको नाममा बक्यौता देखाउनु संस्थाको अनुचित काम हो’, लिकुलबाबु श्रेष्ठ भन्छन्, ‘कहिले हाम्रो नामको धारा अन्य व्यक्तिको घरमा जोडेर गैरजिम्मेवार काम गरेको छ, कहिले जोड्दै नजोडेको धाराको पनि बक्यौता देखाएको छ ।’ संस्थाले जिम्मेवार भएर काम नगरेको उनको भनाइ छ ।

पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका उपाध्यक्ष तथा गुनासो सुनुवाई उपसमितिका संयोजक सुरेशमान श्रेष्ठले बक्यौता रकमबारे अध्ययन भइरहेको बताए । ‘सिस्टमले काम नगरेको जस्तो छ । हामीले अध्ययन गरिराखेका छौँ,’ उनले भने, ‘प्राविधिकको गल्ती हो या मिटर रिडरको गल्ती हो, त्यो हामी अनुसन्धान गर्दैछौँ ।’

केहि स्थानमा घरधनीलाई थाहा नदिई अन्य व्यक्तिले नै वर्षौँदेखि खानेपानी उपभोग गरिराखेको तर पानीको महशुल नतिरेको भेटिएको उनले बताए । यस अघिको समितिबाट लगत कट्टा नगर्दा त्यसको मार अहिलेको समितिले खेप्नु परेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्