
बाढीले जगतको लघु जलविद्युत मुहानमा क्षति पुर्याउँदा बिद्युत सेवा अवरुद्ध
बाढीका कारण उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दिबासस्थित जगतमा रहेको उहिया सिर्दिवास लघु जलविद्युत आयोजनाको मुहानमा क्षति पुगेको छ ।
शनिबार दिनभरको बर्षाका कारण भालुवाङ खोलामा आएको पहिरो र बाढीले आयोजनाको मुहानस्थित ड्याममा माटो, वालुवा र ढुङ्गा थुप्रिएर बसेको जलबिद्युत समितिका अध्यक्ष सुजन गुरुङले बताए ।
उनका अनुसार शनिवार रातीदेखि बिद्युत सेवा पनि अवरुद्ध भएको छ । ‘पावर हाउसमाथि रहेको मुहानको ड्याममा माटो, बालुवा र ढुङ्गा थुुप्रिएकाले बिजुली पनि अवरुद्ध भएको छ,’ उनले भने ।
स्थानीयहरु मिलेर ड्याम र पानीको कुलोमा रहेको बालुवा, गिटी र ढुङ्गा पन्छाउने काम भरहेको उनले बताए । पानी परिरहेका कारण माथिको ढुङ्गा, वालुवा गिटीहरु आइरहेकाले समस्या भएको उनको भनाइ छ । एक÷दुई दिन भित्रमा विद्युत सूचारु गर्ने गरी काम भइरहेको र बर्षात रोकिएमा बिद्युत सुचारु गर्न सकिने बताइएको छ ।
१ सय ५० किलोवाटको जलविद्युत आयोजना अवरुद्ध हुदाँ उहिया, दोभान, लोक्पा, न्याक, सिर्दिबास लगायतका करिब ८ घरधुरीमा विजुली सेवा अवरुद्ध बनेको छ ।
विजुली अवरुद्ध हुदा सिर्दिबास स्वास्थ्य चौकीको ल्याब लगायतका सेवा संचलान गर्न समस्या भएको छ । पालिकाको काम समेत प्रभावित बनेको बताइएको छ । शनिबार आएको बाढीले हाइड्रोपावर तल रहेको काठे पुल समेत बगाएको छ ।




