
वन्यजन्तुको आक्रमणले ६ सय बढी घरपालुवा पशुचौपाया मरे, ४३ लाख ५८ हजार क्षतिपूर्ति वितरण
केशव गुरुङ :
गत आर्थिक बर्ष जंगली जन्तुको आक्रमणबाट जिल्लामा ६ सयभन्दा बढी घरपालुवा पशुचौपाय मरेका छन् । मनास्लु संरक्षण क्षेत्र (एमक्याप) गोरखाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९÷०८० मा वन्यजन्तुको आक्रमणबाट ६ सय ४४ वटा पशुचौपाया मारिएका हुन् । आक्रमण गर्ने जंगली जनावरमध्ये सबैभन्दा धेरै चितुवा रहेको कार्यालय प्रमुख पशुपति अधिकारीले बताए ।
‘हिमचितुवा, चितुवा र ब्यासो लगायतका वन्यजन्तुले आक्रमण गरेका हुन्,’ उनले भने, ‘बढी चितुवा रहेको छ ।’ चितुवाका कारण ५ सय २७ वटा गाइगोरु÷बाख्रा÷बोका मारिएको उनले जानकारी दिए । चितुवाको आक्रमणबाट तीन जना व्यक्ति समेत घाइते भएको उनको भनाइ छ । गोरखाको तल्लो क्षेत्रमा चितुवाको आतंक बढेको भन्दै सर्तक रहन उनले आग्रह समेत गरेका छन् ।
त्यस्तै उत्तरी गोरखाको चुमनुब्रीमा हिमचितुवाको आक्रमणले ५५ वटा र व्याँसोका कारण ६२ वटा चौरी÷याक÷घोडा मरेका छन् । एक वर्षको अवधिमा वन्यजन्तुबाट घरपालुवा पशुचौपाया मारिएको भन्दै कुल ४ सय ३० वटा निवेदन परेको एमक्यापको कार्यालय गोरखाले जनाएको छ । उनीहरुलाई क्षतिपूर्तिवापत ४३ लाख ५० हजार रुपैयाँ वितरण गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।
कार्यालयमा सबैभन्दा धेरै निवेदन गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सहिदलखन, भीमसेनथापा, बारपाक सुलिकोट, सिरानचोक, आरुघाट लगायका स्थानीय तहहरुबाट आएको उनको भनाइ छ । आर्थिक वर्ष २०७८÷७९ मा ७ सय ४१ पशुचौपायलाई क्षति पु¥याए बापत कुल ५५ लाख १९ हजार क्षतिपूर्ति रकम वितरण गरिएको थियो ।
बाँदर र निलगाईबाट मानवीय वा खाद्यबालीमा क्षति पुगे पनि राहत
बाँदर र निल गाइले मानवीय तथा खाद्यान्न बाली क्षति पु¥याएमा पिडितले क्षतिपूर्ती पाउने भएका छन् । चालु आर्थिक वर्षबाट सरकारले यस्तो व्यवस्था गरेको हो ।
यसअघि वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाअनुसार बाघ, हात्ती, गैंडा, भालु, चितुवा, हिउँचितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, जंगली बँदेल, अर्ना, मगर गोही, गौरीगाई र अजिंगरले मानिस, घरपालुवा पशु वा गोठमा क्षति पु¥याएको खण्डमा मात्र पिडितले क्षतिपूर्ति पाउने ब्यवस्था थियो । बाँदर र निलगाई थपिएसँगै चालु आवबाट १६ वटा वन्यजन्तुले क्षति पु¥याएमा राहत पाउने कार्यालयले जनाएको छ ।
त्यस्तै, मगर गोहीले व्यवसायिक रुपमा माछापालन गरेको क्षेत्रमा माछा खाइदिएमा, चितुवाले कुखुरा, हाँस खाइदिएमा र भालुले पशुचौपायामा क्षति पु¥याएमा पनि राहत पाउने बताइएको छ । यसअघि माछापालन र कुखुरामा क्षति पु¥याएमा राहत वितरणको व्यवस्था थिएन भने भालुले मानवीय क्षति पु¥याएमा मात्र राहत दिने व्यवस्था थियो ।
कार्यालयका अनुसार पशु धनको क्षति अन्तरर्गत वयस्क भैँसी वा जोत्ने उमेरको राँगो वा गोरु वा उन्नत जातको गाई वा साँढेको मृत्यु भएमा रु ३० हजार देखि बढीमा ६० हजारसम्म, अन्य पशुको लागि बस्तुभाउको प्रकार हेरी प्राप्त कागजात र सिफारिसका आधारमा बढीमा १० हजारसम्म क्षतिपूर्ति दिने गरेको जनाएको छ । त्यस्तैगरी घर गोठको क्षति भएमा, अन्न बालीको क्षति भएमा, घरमा भण्डारण गरेर राखेको अन्नबालीमा क्षति पु¥याएको खण्डमा बढीमा १० हजारसम्म क्षतिपूर्ति पाउनेछन् ।
यदि वन्यजन्तुले मानिसलाई क्षति पु¥याएमा सरकारी अस्पताल उपचार गराएबापत बिल अनुसार २० हजारदेखि ८० हजारसम्म, अंगभंग गरेका पाँचलाखसम्म र वन्यजन्तुबाट मृत्यु भएमा उनका परिवारलाई १० लाख सम्म राहत दिने व्यवस्था रहेको बताइएको छ ।
चालु आर्थिक वर्षबाट राहत वितरण वन कार्यालयबाट हुने
चालु आर्थिक वर्षबाट बन्यजन्तुले मारिएका पशुचौपायाको क्षतिपूर्ति रकम डिभिजन वन कार्यालयबाट वितरण हुने भएको छ । वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० जारी गरेसँगै वन कार्यालयबाट क्षतिपूर्ति वितरण हुने भएको हो । यसअघि डिभिजन वन कार्यालय मातहतका कार्यालयबाट जिल्लाभरिकै पशुचौपायाको क्षति भएको निवेदन संकलन गरिदै आएको थियो ।
सबै निवेदन वन कार्यालयले संकलन गर्ने र क्षर्तिपूर्ति वितरणका लागि वनबाट एकमुष्ठमा निवेदनहरु मनास्लु संरक्षण आयोजना कार्यालयमा पठाउने गरेको थियो । अव भने मनास्लु संरक्षण क्षेत्र सम्पर्क कार्यालयले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका भित्रका मनास्लु संरक्षण क्षेत्र भित्रको मात्र जिम्मेवारी तोकिएर आएको कार्यालय प्रमुख पशुपति अधिकारीले बताए ।




