| बुधबार, कार्तिक २५, २०८३

मिलन बस्ती निर्माणको काम आठबर्षदेखि अधुरै

प्रतीक्षा आले :

भीमसेनथापा ५ डाँडागाउँकी सीता श्रेष्ठलाई भूकम्पले घर भत्किएर पीडा भोगिरहेका बेला समाजका अगुवाहरुले भनेजस्तै सुविधासम्पन्न एकीकृत बस्तीमा पक्की घर बनाएर बस्ने ठूलो रहर लागेको थियो । त्यसैले उनले गाउँले अगुवाहरुले भनेअनुसार घर बनाउन रिनधन गरेर झण्डै १० लाख रुपैयाँ बुझाइसकिन्, तर आठ बर्षभइसक्यो, नयाँ घरमा बस्ने सपना अधुरै छ ।

२०७२ सालको भूकम्पले घर भत्किएपछि धरमपानी, रिठ्ठेपानी, पाण्डेगाउँ, नयाँगाउँ र डाँडागाउँका उनीजस्ता १३८ घरपरिबारलाई मिलनबस्तीमा सुविधासम्पन्न एकीकृत बस्ती बनाई बसोबास गराउने योजना बनेको थियो । तर आठ बर्ष बितिसक्यो, न नयाँ घरमा ढुक्कले बस्न पाइएको छ, न पुरानो थलोमै स्थायी रुपले बस्न पाइएको छ ।

यो अवधिमा कतिपयले भने नयाँ घर पाएर स्थायी रुपमा बस्न थालिसकेका छन् । कतिपयको दिन भने दिनभरि पुरानो घरमा, रात परेपछि नयाँ घरमा धाएर बितिरहेको छ । ‘घरको काम पूरा गर्न काम धेरै नै बाँकी छ । नालाको काम सुरु गरेकै छैन्’, उनले भनिन् ‘आफ्नै ९–१० लाख खर्च भैसक्यो अझै पूरा भएको छैन् । अझै कति पैसा लाग्ने हो, कहिले सम्पन्न हुने हो केहि थाहा छैन् ।’ खेतीबाली, बस्तुभाउ पुरानै बस्तीमा रहेकाले आवतजावतमा निकै समस्या रहेको उनको गुनासो छ ।

यो समस्या उनको मात्र होइन, त्यहाँ घर अपुरो भएको एकसय घर परिबारको अबस्था पनि उस्तै हो । अहिलेसम्म करिब ४० वटा मात्र घर निर्माण सम्पन्न भएको छ । लक्षित समूहका ३० जनाको घर अक्सफाम नामक विदेशी संस्थाले पहिल्यै निर्माण सम्पन्न गरिसकेको थियो । बाँकी घर परिबारले अहिलेसम्म नयाँ घरमा बस्न नपाएका हुन् ।

२०७२ सालको भुकम्पपछि २०७३÷०७४ बाट सुरु गरिएको सो आयोजनाको काम बजेट अभावको कारण सम्पन्न हुन नसकेको पूर्व वडा अध्यक्ष प्रेमचन्द्र श्रेष्ठले बताए । उक्त बस्ती अन्तर्गतको पूर्वाधार बिकास लगायतका कामका लागि सहरी विकास मन्त्रालयबाट करिब ६ करोड रकम खर्च भइसकेको छ ।

अझै पर्याप्त बजेट नहुनाले बस्ती निर्माणको काममा ढिलाई भएको स्थानीय सबिन श्रेष्ठ बताउँछन् । बस्तीका लागि स्थानीय सरकारबाट बजेट बिनियोजन गरिएको छैन् । पालिकाको थोरै बजेटले बस्ती निर्माण प्रक्रिया अगाडि बढ्न सम्भव नरहेको पालिका प्रमुख प्रशासकीय अधिकृत चित्र अधिकारीले बताए ।

निर्माण हुँदै गरेको एकीकृत मिलनबस्तीको काम ७५ प्रतिशत सम्पन्न भएको निर्माण समितिका अध्यक्ष सुकुमार श्रेष्ठ बताउँछन् । उनका अनुसार सडक, सिँडी, खानेपानी व्यवस्थापन लगायतका काम सम्पन्न भए पनि नाला निर्माण, ढल व्यवस्थापन, खेल मैदान, मन्दिर निर्माण लगायतको कामहरु बन्ने क्रममा रहेको उनले बताए । राज्यबाट भूकम्प पिडितलाई प्रदान गरिएको तीन लाख रुपैयाँमा थपेर जसोतसो घर निर्माण गरेको स्थानीय सिता श्रेष्ठ बताउँछिन् । ‘सुरु सुरुमा कस्को घर कुन हो भन्ने समेत थाहा थिएन’, उनी भन्छिन् ‘सक्नेले त धमाधम त्यतिबेलै बनाए । हामी धेरै कमाइ नहुनेको घर भने अधकल्चो भएर बसेको छ ।’

सुविधा सम्पन्न भनिएको एकीकृत मिलनबस्तीभित्र १३८ घरहरु बन्ने क्रममा छन् । तीमध्य ४० घरधुरीका मानिसहरु स्थायी रुपमा बस्तीमा सरिसकेका अध्यक्ष श्रेष्ठले बताए । खानेपानी व्यवस्थापनको कामहरु सम्पन्न भइसकेको उनले बताए । विद्युतीकरण लगायतको कामको लागि पहल भईरहेको उनको भनाइ छ ।

विभिन्न समयमा आउने बाढी, पहिरोका कारण २०४४ सालदेखि चिरा परेका ती गाउँबस्तीहरु भूकम्पले थप जोखिम बनाएपछि स्थानीय जागरुक व्यक्तिहरुको पहलमा एकीकृत मिलन बस्तीमा स्थानान्तरणको योजना बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्