| बुधबार, कार्तिक २५, २०८३

कविता : मेरो मान्बु

भरत केवट
(भवानी मा वि मान्बु, गोरखा)

यो मान्बु गाउँ, राम्रो छ ठाउँ, लेकैमा फुलेको
गण्डकी पारि, धादिङ वारि, फूलझैँ सुहाको
छन् धेरै थरी, गुराँस यहाँ, सजाइ धरती
भूस्वर्ग लाग्ने, यो मेरो गाउँ, लाउँछ पिरती

अठार सय खोलाको नाम्ले यो ठाउँ चर्चित
यो माङ्कु बाट मान्बुको नाउँ भएको विकृत
मान्बुले जनको जीवन सादा उच्च छ विचार
आतिथ्य राम्रो यहाँको हाम्रो ग्रामीण संस्कार

नधेरै गर्मी नधेरै जाडो यहाँको मौसम
बस्नका लागि यो प्यारो गाउँ अति छ उत्तम
जल र वायु भूमि र ध्वनि स्वच्छ छ यहाँको
विचार स्वच्छ राख्नु छ हामी सबैले यहाँको

सडक कच्ची बिजुली बत्ती छ यहाँ पुगेको
सोतीको पुल विकास मूल छ यहाँ बनेको
मान्बुको भूमि लाग्दछ प्यारो प्रकृति धनले
विकास गरौँ सौन्दर्य भरौँ भन्दछ मनले

भवानी मावि ज्ञानको केन्द्र यहाँको ठाउँमा
हृदय खोली ज्ञानको ज्योति छर्दछ गाउँमा
गर्दछ पूरा सबैको इच्छा यहीँको माटोले
मान्दैन मन छोडेर जान गाउँको मायाले

गुरुङ घले, बाहुन क्षेत्री ,यहाँका मूल जाति
दमाई कामी,सुनार विक मनका हुन् साथी
यहाँका जन हिन्दु र बौद्ध इसाइ धर्मका
ईश्वर भेट्न मन्दिर गुम्बा चर्चमा पुगेका

सोरठी घाटु हुन् मुख्य नाच गुरुङ घलेका
ल्होसार चण्डी तिहार दशैँ बौद्ध र हिन्दूका
बक्खु र दौरा घलेक सारी लाएर तनमा
बढ्नु छ अघि बचाइ भेष नेपाल देशमा

मकै र मास कोदो र धान बाली छन् प्रधान
गरेका खेती पालेका पशु छन् धेरै किसान
भूकम्प पछि फेरियो मुख मान्बुले गाउँको
सुन्दर ठाउँ सिर्जना हाम्रो सौगात शृष्टिको

नेपाली सेना ब्रीटिस सेना जनको चाहाना
देशको सेवा गर्नका लागि गर्दैनन् बाहना
अनेक जाती अधिक भाषी छन् यो गाउँमा
भेद र भाव रिस र राग नभाको ठाउँमा

डाक्टर जन्मे पाइलट जन्मे पावन भूमिमा
कलाका प्रेमी जनका नेता जन्मिए माटोमा
वकिल आए शिक्षक आए इन्जिनियर उदाए
यी सबै मिलि मान्बुको हाम्रो इज्जत बढाए ।

समाप्त

प्रतिक्रिया दिनुहोस्