
बोर्लाङमा भीमसेन थापाको पूर्णकदको सालिक र संग्रहालय उद्घाटन
भीमसेन थापा गाउँपालिकामा वडा न. ८ चण्डीस्थान बोर्लाङमा राष्ट्रिय विभूति भीमसेन थापाको पूर्णकदको शालिक र संग्रहालय उद्घाटन गरिएको छ ।
भीमसेन थापा बोर्लाङ प्रतिष्ठान र वडा नं ८ को आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जाराले भीमसेनथापाको २४९ औ जन्यजयन्तीको अवसरमा मंगलबार पुर्णकदको शालिक र संग्रहालय उद्घाटन गरेका हुन् ।
भीमसेन थापाको सालिक दुईवर्षअघि पालिकाले विनियोजन गरेको दश लाख रकममा बनेको हो । संग्रहालय भने गएको आर्थिक वर्षमा पालिका र प्रतिष्ठानको संयुक्त लगानीमा निर्माण गरिएको हो ।
प्रतिष्ठानको नौ लाख र पालिकाले विनियोजन गरेको १० लाख रुपैयामा संग्रहालय निर्माण भएको प्रतिष्ठानका अध्यक्ष राजु थापाले बताए । संग्रहालयभित्र भीमसेन थापाले प्रयोग गरिएका पोशाक, उनका भाइ नयनसिं थापा लगायतकाहरुको फोटोहरु, भीमसेनथापाका विभिन्न अवस्थाका फोटोहरु, नेपाल एकीकरण गर्ने बेलाका नक्साहरु, तत्कालिन समयमा उनले प्रयोग गरेको हातहतियारहरु राखिएका छन् ।
भीमसेनथाापाको जन्मस्थान बोर्लाङ भएको र तत्कालिन समयमा निर्माण गरेको भौतिक संरचनाहरु अहिले भग्नावशेष अवस्थामा रहेकाले ती संरचनाहरुको संरक्षण, सम्बद्र्धन गर्नका लागि संग्रहालय निर्माण गरिएको अध्यक्ष थापाले जानकारी दिए । भीमसेन थापाको शालिक र संग्रहालय निर्माण भएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरु थापाको जन्मस्थल हेर्न आउने क्रम बढ्ने उनले बताए ।
हाल प्रतिष्ठानले खरिद गरेको सात रोपनी र जग्गादाताहरुले दिएको दूई रोपनी गरी करिब नौ रोपनी क्षेत्रफलमा भीमसेन थापाको मूर्ति र संग्रहालय, सालिकसम्म जाने सिँडी बाटो र प्रवेशद्वारा लगायतका भौतिक संरचनाहरु निर्माण गरिएको छ ।
त्यस्तै, चालु वर्ष पालिकाले पाँचलाख रुपैया विनियोजन गरेको छ । सो रकमले डिपिआरमा भए अनुसार संग्रहालय परिपरि घेरबार गर्ने योजना रहेको उनले बताए । तर उक्त बजेट पर्याप्त नहुने उनको भनाइ छ ।
भीमसेन थापा बोर्लाङ प्रतिष्ठानका अध्यक्ष राजु थापाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जाराको प्रमुख आतिथ्यामा भएको कार्यक्रममा उपाध्यक्ष अमृता वस्ती, वडा ७ का वडाअध्यक्ष नारायण श्रेष्ठ, वडा नं ८ का वडाअध्यक्ष विष्णुकुमार श्रेष्ठ लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । सोहि कार्यक्रममा वडा न. ८ का ५० जना जेहेन्दार विद्यार्थीलाई पालिकाका अध्यक्षद्वारा झोला वितरण गरिएको थियो ।
त्यस्तै, गोरखा नगरपालिका वडा नं ४ मा पनि भीमसेन थापाको जन्मजयन्तीको अवसरमा कार्यक्रम भएको छ । कार्यक्रममा भीमसेन थापाको सालिकमा माल्याअर्पणका साथै उनले गरेका कामका बारेमा समिक्षा तथा छलफल भएको थियो । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानका अध्यक्ष अर्जुनप्रताप जबराको अध्यक्षतामा तथा वडा अध्यक्ष लाल प्रसाद भट्टराईको प्रमख आतिथ्याता भएको कार्यक्रममा पूर्व वडाअध्यक्षता रामशरण अधिकारी, नेकपा एमालेका शेरचन थापा, माओवादी केन्द्रका अर्जुन थापा, वडा सदस्य जमिला मिया, एकीकृत समाजवादी फजल मिया लगायतले मन्तव्य राखेका थिए ।




