| बुधबार, कार्तिक २५, २०८३

गोरखामा राष्ट्रिय परिचय पत्र वितरण सुरु

गोरखामा राष्ट्रिय परिचय पत्र वितरण गर्न सुरु भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीनबर्षअघि बायोमेट्रिक फाराम भरेका यहाँका चार जनालाई परिचय पत्र वितरण गर्दै सो कार्यको शुभारम्भ गरेका हुन् ।

शुभारम्भ समारोहमा मन्त्री श्रेष्ठले निर्मला ढुंगाना भट्ट, सुरज बस्नेत, जानुका आले मगर र आकृति भट्टलाई परिचय पत्र वितरण गरेका हुन् । शुभारम्भ समारोहमा बोल्दै मन्त्री श्रेष्ठले राष्ट्रिय परिचय पत्रको बहुप्रयोजन भए पनि त्यसको उपयोग हुने खालको सबै प्रविधि विकास गरिनसकेको बताएका छन् ।

‘राहदानीमा चाहिँ हामीले यसको उपयोग गरिसकेका छौँ तर अरु सबैमा यसको उपादेयता खुल्ने गरी प्रयोगमा ल्याउन सकेका छैनौँ’, उनले भने, ‘राष्ट्रिय परिचय पत्रमा इन्ट्री गरिसकेको परिचय फेरि अरुमा पनि दिनु नपरोस् भनेर यो बनाइएको हो, यद्यपि यसमा धेरै समस्याहरु छन् । यसलाई समाधान गर्दै अघि बढ्ने प्रयासमा हामी छौँ ।’ यसबाट आउने लाभ सारा नागरिकले पाउन् भन्ने उद्देश्य रहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय गोरखामा तथा विभिन्न पालिकामा भएको अभियानमा हालसम्म एकलाख ५९ हजार ६८९ जनाले बायोमेट्रिक फाराम भरिसकेका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

उनीहरुमध्य जिल्ला प्रशासन कार्यालयमा ४२ हजार ४३८ जनाले र विभिन्न पालिकामा सञ्चालन गरिएको अभियानमार्फत एकलाख १५ हजार नौसय ८७ जनाले फाराम भरेका हुन् । साउन लागेपछि गत सोमबारसम्म ७६४ जनाले फाराम भरेका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्